भारतबाट आएका ४५० जनाको आरडिटी रिपोर्ट आयो

सुर्खेतः कर्णाली प्रदेशको प्रमुख प्रवेशद्वार बबई सीमानाकामा आइपुगेका कर्णालीवासीको आरडिटी विधिवाट कोरोना परीक्षण गरिएको छ ।

चारसय ५० जनामा आरडिटी परीक्षण गरिएकोमा पाँच जनाको रिपोर्ट पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए । ‘आरडिटीको क्रममा पाँच जनाको शङ्कास्पद देखिएपछि हामीले उनीहरूलाई पिसीआर परीक्षणका लागि सुर्खेतमा ल्याएका छौँ’, उनले भने, ‘पिसीआर रिपोर्टपछि ती पाँच जनाको व्यवस्थापन गरिनेछ ।’

याे पनि पढ्नुस  टोकियो ओलम्पिक अर्को वर्ष पनि अनिश्चित

यता जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले बबई नाकामा पुगेका कर्णालीवासी नागरिकलाई सम्बन्धित जिल्लामा पठाइएको बताए । सूचना अधिकारी रायमाझीका अनुसार जुम्लाका लागि एक, जाजरकोट दुई, कालिकोट दुई, अछाम दुई, सल्यान नौ, सुर्खेत ११ र दैलेखका लागि २४ गाडी गरेर उनीहरूलाई पठाइएको छ । उहाँका अनुसार सबै गरेर ४१ गाडीमा नागरिकको उद्धार गरी सम्बन्धित जिल्लामा पठाइएको हो ।

याे पनि पढ्नुस  धादिङ सील: नाकामा सुरक्षाकर्मी परिचालन

पछिल्लो समय भारतबाट नेपाल भित्रिने कर्णालीवासीको सङ्ख्यामा वृद्धि भएको छ । हजारौँको सङ्ख्यामा कर्णालीवासी घर फर्कन थालेपछि प्रदेश सरकारलाई व्यवस्थापन गर्न चुनौती थपेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायले जानकारी दिए ।

‘सीमानाकामा रहेको भेरीगङ्गा नगरपालिकाले स्क्रिनिङ सेन्टर स्थापनामा असहयोग गरेपछि बबईमा आइपुग्नेको आरडिटी जाँच, खान बस्नलगायतका समस्या बढ्दै गएको छ’, उनले भने, ‘यसमा स्थानीय सरकार पनि संवेदनशील र सहयोगी बन्न जरुरी छ ।’ यो सङ्कटको बेला बबई सीमानाकासँग जोडिएका स्थानीय तहको बेवास्ताले गर्दा कर्णालीका गाउँगाउँमा सङ्क्रमित जाने खतरा बढेको उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्