आज गणतन्त्र दिवसः इतिहासको अविस्मरणीय दिन

काठमाडौंः नेपालमा राजतन्त्रको अन्त्य भई जनताको शासन अर्थात् सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको दिन आज ।

नेपालको राजनीतिक इतिहासको एक अविस्मरणीय दिन हो जेठ १५ गते । यही दिन जनता र राजाबीचको लडाइँमा अन्ततः जित जनताकै हुन्छ भन्ने यथार्थले मूर्तरूप लिएको थियो ।

आजैका दिन २०६५ साल जेठ १५ गते बसेको संविधान सभाको पहिलो ऐतिहासिक बैठकले नेपाललाई गणतन्त्रमा लैजाने प्रस्ताव अत्यधिक मतले पारित गरेको थियो । गणतन्त्र घोषणा भएको आज १२ वर्ष पुगेर १३ वर्ष लागेको छ ।

विगत वर्षमा नेपाल सरकारले गणतन्त्र दिवसलाई धूमधाम र उत्सवका साथ स्वदेश तथा विदेशमा तीन दिनसम्म मनाउने गरेको थियो ।

साथै गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन गर्ने र सो समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्ने परम्परा थियो तर यस वर्ष कोरोना भाइरस रोग (कोभिड– १९)को महामारीले देशभर बन्दाबन्दी रहेकाले गणतन्त्र दिवस शुभकामना सन्देश आदान प्रदानमै सीमित हुने भएको छ ।

शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक बधाइ दिँदै सुख, शान्ति र समृद्धिको कामना गरेकी छन् ।

याे पनि पढ्नुस  नेपालमा यसरी भएको थियो गणतन्त्र घोषणा

राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमार्फत् देशमा लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका सङ्घर्षमा आफ्नो जीवन आहुति गर्ने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेकी छन् । गणतन्त्र स्थापनार्थ भएका आन्दोलनमा होमिएका सम्पूर्ण राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ता एवं आम जनताको योगदानको उच्च प्रशंसा गर्दै उनले गणतन्त्रलाई थप सुदृढ तुल्याउन हार्दिक आह्वानसमेत गरेकी छन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनले कोभिड–१९ नियन्त्रणका लागि तीन तहको सरकारले गरिरहेको कार्यले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाप्रति थप गौरव गर्ने वातावरण बनेको बताएका छन् ।

गणतन्त्र दिवस–२०७७ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि तीनै तहका सरकारले गर्दै आएको प्रयासलाई अझै प्रभावकारी बनाउँदै लैजान आग्रह गरेका छन् ।

गणतन्त्रलाई अझै समृद्ध बनाउनु आवश्यक रहेको भन्दै उपराष्ट्रपतिले भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता, राष्ट्रियता र राष्ट्रिय एकतालाई अझै सुदृढ् गर्दै लैजानुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र शासन प्रणाली मात्रै नभई नयाँ सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धति भएको बताएका छन् ।

याे पनि पढ्नुस  प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूलसमारोह समिति गठन

लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धिका रूपमा रहेको गणतन्त्रलाई सबल बनाउन सामाजिक न्याय, सुशासन र समृद्धिका तीनवटै आयामलाई समुचित सन्तुलनका साथ अगाडि बढाइएको उनले बताए ।

गणतन्त्र दिवसकाे अवसरमा प्रधानमन्त्री केपी शर्मा अाेलीले दिनुभएको शुभकामना सन्देश (भिडियाे)

Posted by Prime Minister's Press Advisor on Wednesday, May 27, 2020

गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘परिवर्तनलाई सामाजिक जीवनका समग्र आयामसँग जोडेर विकास गर्न सकेमा मात्रै यो दिगो बन्न सक्छ ।’ जनतालाई केन्द्रबिन्दुमा राखेर, जनताको इच्छामा र जनताका लागि सञ्चालित हुने शासन व्यवस्था नै गणतन्त्र भएको चर्चा गर्नुहुँदै उनले अगाडि भनेका छन्, ‘संविधान र कानुनमा उल्लिखित अधिकारको प्रयोग गर्न सक्ने गरी जनता सक्षम नहुँदासम्म गणतन्त्रले सार्थक रूप लिन सक्दैन ।’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्ति एकताबद्ध भई जनअपेक्षा अनुसार सुशासन र विकासमा समर्पित हुनु आजको राष्ट्रिय आवश्यकता भएको बताएका छन् ।

दिवसका अवसरमा शुभकामना सन्देश दिँदै पूर्वप्रधानमन्त्री दाहालले गणतन्त्रात्मक शासन व्यवस्थाले देशका सम्पूर्ण उत्पीडित समुदायको अधिकारसहित राज्य सत्तामा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको बताएका छन् ।

शुभकामनातेह्रौं गणतन्त्र दिवसको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा…

Posted by क. प्रचण्ड / Comrade Prachanda on Wednesday, May 27, 2020

गणतन्त्र प्राप्तिका लागि जनयुद्ध र विभिन्न जनआन्दोलनमा आफ्नो प्राणको उत्सर्ग गर्ने शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै अध्यक्ष दाहालले बेपत्ता योद्धा र घाइते योद्धाको त्याग र समर्पणप्रति उच्च सम्मान प्रकट गरेका छन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको रोकथाम र उपचारका लागि अग्रमोर्चामा खटिनुहुने सम्पूर्णको उच्च प्रशंसा गर्दै उनले यस ऐतिहासिक दिवसका अवसरमा सबैको सुस्वास्थ्य र प्रगतिको कामना गरेका छन् ।

याे पनि पढ्नुस  राष्ट्रपतिबाट २ सय ३३ जना कैदीको सजाय मिनाहा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि गणतन्त्र दिवसको शुभकामना दिएका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत दायित्व कायम गरेर मुलुकलाई आर्थिक सम्बृद्धिको दिशातर्फ अग्रसर गराउनुपर्ने उनले बताएका छन् ।

कमेन्ट गर्नुहोस्