लज्जित छु, तिम्रो प्रेमको रक्षा गर्न सकिनँ !

प्रिय नवराज, तिम्रो नाममा के लेखूँ ? निःशब्द छु, लज्जित छु । मंगलबार बिहानीको सिरेटोले आँखा खोलिदिएपछि मैले तिम्रोबारे लेखिएको समाचार पढें । जाजरकोटको भेरी–४, रानागाउँका २० वर्षीय तिमीले पश्चिम रुकुमको चौरजहारी–८, सेतीकी १७ वर्षीया मल्ल थरकी एक युवतीसित तीन वर्षदेखि प्रेम गरेका रहेछौ ।

तिम्रो प्रेम सम्बन्धलाई यो समाजमा शताब्दियौंदेखि शासन गर्दै आएको कथित उच्च जातिले स्विकार्न सकेनछ । र, आफ्नी प्रेमिका लिन गएका तिमी र तिम्रा साथीहरूको पूरै गाउँ उर्लेर कुटी–कुटी हत्या गरेछ । तिमी र तिम्रा साथीलाई ज्युँदै नदीमा बगाएछ । यसरी तिम्रा जन्तीलाई मलामी बनाएको समाचार मैले ओछ्यानमै जबरजस्ती पढें । ढाकाटोपी लगाएको, झोलामा राष्ट्रिय झन्डा बोकेको तिम्रो तस्बिर मैले समाचारसँगै देखें ।

लेखक गीता रसाइली ।

 

भाइ नवराज, त्यसपछि मेरा आँखामा बादल छायो । न तत्काल केही बोल्न सकें, न त केही लेख्न नै । पूरै कोठा घुमेजस्तो लाग्यो । मेरा परेली र गाला भिज्दै गए । बिस्तारै भिज्यो सिरानी पनि । काम्न थाले ओठ अनि अवरुद्ध भयो गला । सुनसान कोठामा मुटुको धड्कन मात्रै सुनिइरह्यो । अनायासै मेरो मुखबाट आवाज निस्कियो— धत्, म कस्तो समाजमा बाँचिरा’ छु ! संसार कहाँबाट कहाँ पुगिसक्यो, मेरो समुदायले भने यो एक्काइसौं शताब्दीमा पनि ‘मान्छे भएर बाँच्न देऊ’ भनी भीख माग्नुपरिरहेछ !

कोरोना महामारीले थङथिलो भएको मेरो मस्तिष्कले त्यसपछि कामै गर्न छोड्यो । तिम्रो समाचार सुनेपछि त म शून्य–शून्य भएँ । न तिम्रो नाममा सामाजिक सञ्जालमा केही पोस्ट गर्न सकें, न तिम्री आमालाई केही सन्देश लेख्न । मात्र तिम्रो नाममा बगाउन सकें आँखाबाट आँसु । मेरो क्रन्दन कोठाका भित्तामा ठोक्किएर कानमा आइरह्यो । तिम्रो प्रेम बचाउन नसकेकोमा, तिम्रो ज्यान जोगाउन नसकेकोमा मैले आफूलाई लाचार महसुस गरिरहें । त्यसपछि केही घण्टा आफूलाई ओछ्यानमै पछारिरहें । आँखा टोलाइरहे, म आफैंभित्र हराइरहें । मनमुटुमा शोकधुन बजिरह्यो । जबरजस्ती ओछ्यानबाट उठेपछि जातीय र वर्गीय मुक्तिका लागि आन्दोलनमा लामबद्ध भएका ती दिनहरू सम्झें । ‘मान्छेमान्छे एउटै हुन्, यिनमा फरक किन भयो ? श्रम चल्छ, सीप चल्छ, पानी नचल्ने भो’ भन्ने गीतका हरफहरू याद आए । मेरो मनमा प्रश्नैप्रश्नको पहाड ठडियो । तिम्री आमाजस्ता सयौं आमाको काख रित्तो बनाएर, तिमीजस्तै सयौं युवाले रगत बगाएर ल्याएको गणतन्त्रले भाइ नवराज, तिम्रो प्रेमको रक्षा गर्न नसक्दा मलाई आत्मग्लानि भयो । विडम्बना, जसलाई आत्मग्लानि हुनुपर्ने हो, उनीहरूलाई केही फरक परेको छैन । फरक परोस् पनि किन ? तिमी मात्र हौ र ? दलित समुदायको कोखबाट जन्म लिएकै आधारमा तिमीजस्ता कति प्रेमजोडी उनीहरूको सिकार भएका छन् । अनि कहाँ पोल्छ र उनीहरूलाई ?

याे पनि पढ्नुस  प्रेम, विवाह र यौनबारे आहुतीः के हो प्रेम, के होइन ?

दलित समुदायको रगत अरूको जस्तो रातो देखेका भए सायद उनीहरूको मुहारमा लाचारीपन देखिने थियो । तिम्रो रगतले पोल्ने थियो । तर, हजारौंको बलिदानमा टेकेर शासनसत्तामा पुगेकाहरूलाई तिमीजस्ता प्रेमीको बलिदानले कहिल्यै दुःखी बनाएन । मेरो परिवारले रगत बगाएर, मैले लडेर ल्याएको गाणतन्त्रमा आज तिमीजस्ता प्रेमी हारेर मर्नुपरेको छ । अतालिएकी छु म । मेरो समुदायलाई गणतन्त्रले नदिएको न्याय म अब कुन तन्त्रबाट आशा गरूँ ?तिमीजस्तै प्रेममा हारेका सयौं प्रेमीको रगतले पोलेको छ मलाई । तिम्रो मृत्युमा विक्षिप्त छौं हामी । हामी सयौं दलित युवाको रगत यति बेला उम्लेको छ । तर मलाइर् थाहा छैन भाइ नवराज, तिम्रो मृत्युले गर्दा समाजमा पलाउँदै गरेका अरू कति प्रेमका मुना भाँचिन्छन् वा अझ कलकलाउँदा भएर आउँछन् । तर एउटा कुरा सत्य हो, भेरी नदीमा बगेको तिम्रो रगत र आमाको आँसुसँगै खडा भएका छौं सयौं छोराछोरी । पोलेको छ छाती, उम्लेको छ रगत, उठेका छन् हातहरू तिम्रो न्यायका लागि । तिम्रो प्रेमलाई माटोमा मिलाउनेहरू उम्कन पाउनेछैनन् । उनीहरू ल्याइनेछन् कानुनको कठाघरामा । न्याय, न्याय, न्याय भनिरहेका छौं हामी । चिच्याइरहेका छौं आज विभिन्न माध्यमबाट ।

याे पनि पढ्नुस  बालक मृत्यु प्रकरणः प्रहरीविरुद्ध आयोगमा उजुरी

तिम्रो गाउँमा मात्र होइन भाइ, सम्पूर्ण दलित समुदाय आज शोकमा छ । हाम्रो समुदाय मात्र होइन, मानवताको अर्थ बुझ्नेहरू सबै पीडामा छन्, तिम्रो र तिम्रो परिवारका साथमा छन् । भाइ नवराज, तिमीलाई राम्रोसँग थाहा थियो । नेपालको संविधानको मौलिक हकमा जातीय आधारमा कुनै पनि व्यक्तिलाई भेदभाव गर्न पाइँदैन भनिएको छ । त्यही विश्वास र संविधानले तिमीलाई दिएको अधिकारका आधारमा तिमी बलियो भएर आफ्नो प्रेमका लागि लडेका थियौ । तर तिमीले बुझेनौ, यो समाज कति राक्षसी र कुरूप छ भनेर । तिमीले पत्तै पाएनौ, तिम्रो समाजमा मान्छेभन्दा अजिङ्गर र सर्पहरू बढी बस्छन् भनेर, जसले तिमीलाई देख्नेबित्तिकै डस्न र निल्न सक्छन् भनेर । तिनीहरूको यही क्रूरताका कारण तिमीहरूमाथि आक्रमण हुँदा त्यहाँको पूरै समाज रमिते बनेको हो ।

भाइ नवराज, यो समाज यसरी रमिते बन्नु नौलो कुरा होइन । यो समाज रमिते त लक्ष्मी परियार, अजित मिजारहरूको मामिलामा पनि बनेको थियो । बुटवलकी एक किशोरीलाई बलात्कारीको जिम्मा लगाएर पठाउने समाज भोलिपल्ट उनी रूखमा झुन्ड्याएको अवस्थामा भेटिँदा पनि रमिते नै बनिरह्यो । म सुन्दै छु, तिमीले नै चुनेर पठाएका जनप्रतिनिधि पनि बन्दै छन् रे रमिते । सत्ता र शक्तिको आडमा तिम्रो प्रेम र तिम्रो हत्या गर्नेहरूलाई जोगाउने खेल सुरु हुन लागेको छ रे । तिम्रो समाचार लेख्ने पत्रकारलाई धम्क्याइँदै छ रे । त्यति मात्र कहाँ हो र, तिमीलगायत तिम्रा साथीमाथि भएको नरसंहार तिमीहरूकै कारणले सुरु भएको हो भनी संसद्मै बोलिसके ! योभन्दा ठूलो दमन र शक्तिको प्रदर्शन अर्को के हुन सक्छ ? फेरि प्रश्न गर्न मन लाग्यो, गणतन्त्र यसकै लागि थियो ? तिम्रो न्यायका लागि हामीले कुन तन्त्र ल्याउनुपर्ने हो ?

याे पनि पढ्नुस  वडाध्यक्षका भाईद्वारा प्रशासकीय अधिकृतमाथि आक्रमण

नवराज, यो संसारबाट बिदा लिँदै गर्दा तिमीले धेरै प्रश्न छोडेर गएका छौ । आजसम्मको राजनीतिक परिवर्तनको आन्दोलन कसका लागि थियो ? वर्गीय र जातीय मुक्तिका लागि गरिएको दसवर्षे जनयुद्ध र जनआन्दोलनमा दलित समुदायले ज्यानको आहुति दियो । जनयुद्धमा दिलबहादुर रम्तेल, जनआन्दोलनमा सेतु विकजस्ता कैयौंको बलिदान केका निम्ति थियो ? के सबै आन्दोलनमा उरालिने पछाडि पारिएको वर्ग र समुदायको मुक्तिको नारा सत्तामा पुग्ने हतियार मात्र थियो ? औंलामा गनिन सक्ने दलित नेताहरूलाई सत्ताको नुन चखाएर अलमलाउने र उतै भुलाउने खेल मात्र थियो ? कहाँ छन्, हिजो भाषण गर्ने नेताहरू ? के लेखेर मात्र सबै प्राप्ति हुन्छ ? कहिले हुन्छ संविधानको कार्यान्वयन ? संविधान ल्याउन बगेको रगत अझै आलै छ । अब कति प्रेमजोडीको रगत चाहियो संविधान कार्यान्वयन गर्नका लागि ? तिमीले छोडेका यी प्रश्नहरू बोकेर हामी हिँड्नेछौं र सोधिरहनेछौं निरन्तर ।

भाइ, तिमी र तिमीजस्तै प्रेममा बलिदान गर्ने जोडीको कसम खाएर भन्छु— बाँचेका हामी दलित समुदायका युवाहरूले तिम्रो अपराधीलाई उन्मुक्ति दिनेछैनौं । वास्तवमा तिमीले प्रेममा हारेका होइनौ, जीवन आहुति दिएर जितेका छौ । यो सामन्ती निरंकुश ब्राह्मणवादी समाजसँग लड्दालड्दै तिमी जितेर गएका हौ । बाँकी लडाइँको जिम्मा हामीलाई लगाएर गएका छौ । हाम्रो शरीरमा एक मुठी रगत छउन्जेल, अन्तिम सास रहुन्जेल हामी लडिरहनेछौं । तिम्रा निम्ति, तिमीजस्तै प्रेमीका निम्ति । हाम्रा निम्ति, श्रम र सीपका खानी दलित समुदायका निम्ति ! हार्दिक श्रद्धाञ्जली, प्रिय भाइ नवराज विक र प्रेममा लड्दालड्दै जीवन गुमाउने संसारका सबै प्रेमीजोडीप्रति !  कान्तिपुर दैनिकबाट

कमेन्ट गर्नुहोस्