ट्रम्पको आरोपः ‘सीमा विवादले मोदीको मुड ठीक छैन’

काठमाडौंः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमामा जारी तनावको विषयलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुड ठीक नभएको टिप्पणी गरेका छन् ।

उनले भारत र चीनको सीमा विवाद समाधानका लागि मध्यस्थता गर्न अमेरिका तयार रहेको पुनः दोहोर्याएका पनि छन् ।

भारत र चीनबीच लद्दाख क्षेत्रमा सीमा विवाद भइरहेको बेला ट्रम्पको यो पछिल्लो अभिव्यक्ति आएको हो । बिहीबार ओभलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘म केही सहयोग गर्न सक्छु भने मध्यस्थता गरिदिन तयार छु ।’

याे पनि पढ्नुस  ‘राष्ट्रपतिमा पुनः जिताउन ट्रम्पले चीनको सहयोग मागे’

एक भारतीय पत्रकारको प्रश्नको जवाफमा ट्रम्पले भने, ‘मैले मोदीसँग कुराकानी गरेको थिएँ । दुई देशबीचको तनावलाई लिएर भारत खुसी छैन । शायद चीन पनि खुसी छैन होला । चीनसँग जे भइरहेको छ, त्यसबाट मोदीको मुड ठीक छैन ।’

गत बुधबार राष्ट्रपति ट्रम्पले ट्वीट गरेर दुवै देशबीच सीमामा जारी तनाव समाधानका लागि मध्यस्थता गर्न अमेरिका तयार रहेको बताएका थिए । उनले लेखेका थिए, ‘उनीहरुलाई यदि यसबाट सहयोग मिल्छ भन्ने लाग्छ भने म यो काम गर्न सक्छु ।’

कमेन्ट गर्नुहोस्