बझाङमा वन फडानीः स्थलगत अनुगमन गरेर फर्कियो टोली

बझाङः जिल्लाको छबिसपाथिभेरा गाउँपालिका-७ मा वन फडानी भएको समाचार बाहिर आएपछि डिभिजन वन कार्यालयको टोलीले त्यस क्षेत्रको स्थलगत अनुगमन गरेको छ ।

तिखाउडी चाल्लाखर्क सामुुदायिक वनका अध्यक्ष लक्ष्मण बोहरा र सचिव मदन बोहराले जलजला बासुधारा सेरी निसान सामुदायिक वनमा काठ कटान गर्न नक्कली पुर्जी दिएको भन्दै उजुरी परेपछि वन कार्यालयको टोलीले स्थलगत अनुगमन गरेको हो ।

रेञ्जल कपिल रावलको नेतृत्वको ५ सदस्यीय टोलीले बुधबार फडानी भएको वनको अनुगमन गरेको हो । अनुगमनका क्रममा टोलीले १३ वटा ठिङेसल्लोका रूख काटेको पाइएको रेञ्जर रावलले जानकारी दिए । ‘जिल्लामा वन फडानी उजुरी परेपछि हामीले सो क्षेत्रको स्थलगत अनुमगन गरिसकेका छौँ’, उनले भने, ‘अनुगमनका क्रममा १३ वटा ठूला रूख काटेको पाइएको छ ।’

रेञ्जर रावलले २/३ दिनभित्र स्थलगत अध्ययन प्रतिवेदन तयार गरेर वन डिभिजन कार्यालमा पठाइने जानकारी दिए । ‘हामी बिहीबार साँझ मात्र अनुगमनपछि फर्किएका छौँ’, उनले भने, ‘२/३ दिनभित्र स्थलगत अध्ययन प्रतिवेदन तयार पारेर वन डिभिजनमा बुझाउँछौँ ।’

याे पनि पढ्नुस  बझाङको गल्लेखमा खानेपानीको अभाव

वन फडानी भएको क्षेत्र दुबै पक्षले आआफ्नो दाबी गरेकाले विवादसमेत बढेको छ । तिखाउडी चाल्लाखर्क सामुुदायिक वनले आफ्नै क्षेत्रमा रूख काटेको भन्दै दाबी गर्दै आएको छ । वनका अध्यक्ष लक्ष्मण बोहराले आफूले पुर्जी दिएकै वनमा रूख काटिएको बताए । ‘हामीले पुर्जी दिएकै स्थानमा रूख काटिएको छ’, उनले भने, ‘कटानी भएको क्षेत्र हाम्रै वनमा पर्छ । सेरी निसान वनले विवाद सिर्जना गर्न मात्र यस्तो गरेको हो ।’

अध्यक्ष बोहराले फेरि वनको सीमा नाप्नसमेत तयार भएको बताए । ‘हामीबाट पनि केही गल्ती भएको म स्वीकार गर्छु तर जति बाहिर आएका छन् त्यति होइन’, उनले भने, ‘हामीले पुर्जी दिँदा ३/४ रूखको मात्र दिएका थियौँ । तर, त्यहाँ १३ वटा रूख कटान गरिएको पाइएको छ । यदि विवादले उग्ररूप लिन्छ भने फेरि वनको सीमा नाप्न तयार छौँ ।’

याे पनि पढ्नुस  बझाङमा भीरबाट लडेर महिलाको मृत्यु

अनुगमन टोलीले पनि दुबै वनबीच विवाद भएकाले समाधान हुन समय लाग्ने बताएको छ । ‘हामीले अनुगमनमा गर्दा पनि दुई वनबीचको सीमा विवाद देखिएको छ, दुबै पक्षको आआफ्नो दाबी छ’, रेञ्जर रावलले भने, ‘दुबै वनका अध्यक्षलाई जिल्ला बोलाएका छौँ । अब उनीहरूसँग कुरा के हुन्छ । यदि वनको सीमा विवादले उग्ररूप लिएमा नापका लागि फेरि टोली जानसक्छ ।’

डिभिजन वन कार्यालयका प्रमुख कर्णबहादुर खातीले अध्ययन प्रतिवेदन अनुसार अगाडि बढ्ने बताए । उनले अनुगमन गरेर टोली फर्किसकेकाले अध्ययन प्रतिवेदन हात परिसकेपछि मात्र विस्तृत थाहा बताए । ‘फडानी भएको वनको अनुगमनका लागि जिल्लाबाट पठाइएको टोली त्यहाँबाट फर्किसकेका छ’, प्रमुख खातीले भने, ‘प्रतिवेदनले के भन्छ त्यहीँ अनुसार अघि बढ्छौँ । यो प्रकरणमा कसैले बद्मासी गरिएको पाइएमा कानुन अनुसार कारवाही हुनेछ ।’

याे पनि पढ्नुस  बझाङकाे छबिसपाथिभेराका २ युवकको आरडीटी नेगेटिभ

यही जेठ १३ गते वन फडानी र नक्कली पुर्जी दिएको भन्दै सेरी निसान सामुदायिक वनका सचिव भरत धामीले जिल्ला प्रशासनमा उजुरी दर्ता गरेका थिए ।

उनले दिएको उजुरीमा तिखाउडी चाल्लाखर्क सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लक्ष्मण बोहरा र सचिव मदन बोहराले आफ्नो वनको नक्कली काठपुर्जी दिएर वडा नम्बर ५ मा बस्ने प्रेम ठगुन्ना, शिवजी जाग्री लगायतलाई लकडाउनको मौका छोपी सेती निसान सामुदायिक वनको क्षेत्रभित्र प्रवेश गराएर करोडौंको काठ कटानी गराएको उल्लेख गरिएको छ ।

बझाङमा नक्कली पुर्जी दिएर काठ कटानी गरेको भन्दै अध्यक्ष र सचिवविरूद्ध उजुरी

लकडाउनको मौका छाेपी बझाङमा व्यापक वन फडानी (तस्बिरसहित)

कमेन्ट गर्नुहोस्