पश्चिमी वायुको प्रभावले वर्षा, कस्तो छ आगामी ३ दिनको मौसम?

काठमाडौंः पश्चिमी वायुको प्रभावले आज काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ । पश्चिमी वायुको प्रभावका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखा र स्थानीय वायुको प्रभावले बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका धेरैजसो स्थानमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यी प्रणालीको प्रभावले आगामी ३ दिन देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताए । उनका अनुसार वर्षा हुने भनेर लगातार दिनभर नभई बिहान र बेलुकाको केही समय हुनेछ । दिउँसो भने मौसम सफा नै रहने बताइएको छ । हाल देशभर सामान्य बदली रही केही स्थानमा वर्षा भएको छ । कतिपय स्थानमा भने अपराह्नपछि सामान्य बदली रही धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।

याे पनि पढ्नुस  मौसम पूर्वानुमानः वर्षा र हिमपातको सम्भावना

आइतबार देशको पूर्वी भूभागलगायत मध्य तथा पश्चिमी भूभागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सोमबार देशको पूर्वी भूभागलगायत मध्य तथा पश्चिमी पहाडी भूभागमा सामान्य बदली रही १–२ स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको औँल्याएको छ ।

याे पनि पढ्नुस  अप्रिलमा औसतभन्दा बढी वर्षा, कस्तो छ भोलि र पर्सीको मौसम?

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकामा ६ मिलिमिटर वर्षा भएको छ । त्यस्तै दिपायलमा १.४, धनगढीमा ७.५, पोखरामा ३.६ र नेपालगञ्जमा ३.२ मिलिमिटर वर्षा भएको छ ।

कमेन्ट गर्नुहोस्