महेन्द्रनगरमा कोरोना अस्पताल सञ्चालन गर्ने तयारी

महेन्द्रनगरः कोरोना भाइरस (कोभिड १९) का विरामी बढ्न थालेपछि महाकाली अस्पताल बाहिर उपचारका लागि तयारी शुरू गरिएको छ ।

अस्पतालमा सबै विरामीको उपचार गर्न नसकिने भएकाले अस्पताल बाहिर वैकल्पिक व्यवस्था गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय र भीमदत्त नगरपालिकाले महाकाली अस्पतालको नेतृत्वमा निजी क्षेत्रका अस्पतालमा कोरोना संक्रमित विरामीको उपचार गर्ने तयारी अघि बढेको छ ।

त्यसका लागि जिल्ला प्रशासन, भीमदत्त नगरपालिका र महाकाली अस्पताल सेफर हस्पिटललाई कोरोना अस्पताल बनाउन सहमति गरेका छन् ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा नगरपालिकामा बसेको बैठकले सेफर अस्पतालको भौतिक र जनशक्ति व्यवस्थापन अध्ययनका लागि तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

याे पनि पढ्नुस  बिहानै थपिए संक्रमित, कुन जिल्लामा कति ? (सूचीसहित)

कार्यदलमा महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. हरि कुमार श्रेष्ठ, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनार र भीमदत्त नगरपालिका आधारभूत स्वास्थ्य तथा सरसफाई उप शाखा प्रमुख नरेन्द्रराज जोशी छन् ।

कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेपछि अस्पतालमा सबै विरामीको उपचार गर्न नसकिने भएकाले विकल्पका रूपमा सेफर अस्पताललाई कोरोना अस्पतालका रुपमा सञ्चालन गर्न लागिएको नगर प्रमुख विष्टले बताए ।

याे पनि पढ्नुस  जेठ २५ पछि छोटा र असारदेखि लामो दुरीका सवारी खुल्ने !

महाकाली अस्पतालमा कोरोना विरामीको उपचारका लागि १० शैय्याको आइसोलेसन कक्ष बनाइएको छ । आइसोलेसनका सबै शैय्यामा विरामी भर्ना गरिएका छन् ।

भीमदत्त नगरपालिका सिएमए अनमी तालिम केन्द्र (आइसिएच) लाई कोरोना विरामीको उपचारका लागि आइसोलेसन बनाउने तयारी गरिएको छ । यसअघि नगरपालिकाले आइसिएचमा एक सय बेडको क्वारेन्टाइन बनाएको थियो ।

कोरोना अस्पतालमा महाकाली अस्पतालको नेतृत्वमा अस्पतालसहित सेफर हस्पिटल, जिल्ला स्वास्थ्य कार्यालय र भीमदत्त नगरपालिकाका स्वास्थ्य जनशक्ति परिचालन गरिने भएको छ । त्यसबाहेक अपुग जनशक्ति स्वास्थ्य शिक्षण संस्थाबाट ल्याउने छलफल गरिएको छ ।

याे पनि पढ्नुस  अमेरिका, स्पेन र इटलीमा घट्यो कोरोना प्रभाव

महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. श्रेष्ठले सबै कोरोना विरामीको अस्पतालमा उपचार गर्न सकिने अवस्था नभएकाले वैकल्पिक व्यवस्था गर्नु पर्ने बताए ।

सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालय यस अघि नै कोरोना विरामीको उपचारका लागि वैकल्पिक व्यवस्था गर्न स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुनारले कोरोना विरामीको उपचारका लागि वैकल्पिक व्यवस्थापनका लागि तयारी अघि बढाउन स्वास्थ्य निर्देशनालयबाट निर्देशन आएको बताए ।

कमेन्ट गर्नुहोस्