बुवाको पत्र छोरालाई– हामी कसरी साना हुन सक्छौं र ?

प्रिय छोराहरू मानव/मौलिक !

कोरोना भाइरसका कारण अढाइ महिनादेखि लकडाउन हुँदा तिमीहरूको विद्यालयले प्रविधिको सदुपयोग गर्दै अनलाइनमार्फत् गत डेढ महिनादेखि कक्षा ७ को रेगुलर क्लास सञ्चालन गरिरहेको छ । तिमीहरूले जिम्मेवारीपूर्वक समयमै आफ्नो होमवर्क सक्ने तथा मम्मी र आमालाई पनि घरका काममा सरसहयोग गरिरहेको सुन्न पाउँदा म अत्यन्तै खुशी छु । आज तिमीहरूजस्ता कैयौं बालवच्चाहरू विद्यालय जाने अवसरको त परैको कुरा, लकडाउनका कारण आफ्नो घरमा खाने कुरा नहुँदा केही राहतको आशमा भोकभोकै रात काटिरहेको खबर पनि तिमीहरूले थाहा पाइरहेकै हौला ।

पाँच वर्ष अगाडि आएको भूकम्पको अवधिमा तिमीहरूले बालक अवस्थामै सङ्कटको सामना गर्ने अभ्यास सिकेका थियौ । मलाई सम्झना छ- भूकम्पको झड्का आउनेवित्तिकै सबैभन्दा पहिले वाहिर दगुर्ने र चिच्चाएर हामीहरूलाई सचेत बनाउने तिमीहरूले यसपटकको सङ्कटमा मम्मी र आमालाई सचेत गराउँदै- वाहिर नजानुहोस्, साबुन पानीले हात धुनुहोस्, स्यानीटाइजर लगाउनुहोस् भन्दै असाध्यै केयर गरिरहेको कुराले मलाई राहात मिलेको छ ।

गत वर्ष तिमीहरूको कक्षा ६ को सोसल स्टडिज अन्तरगत ‘अनटच्याविलिटी एण्ड रेसियल डिस्क्रिमिनेसन’ सम्बन्धी क्रियटिभ राइटिङ् गृहकार्यको मलाई झलझली याद आइरहेको छ । तिमीहरूले होमवर्क तयार गर्दै गर्दा आफ्नो सरनेम ‘विश्वकर्मा’ को प्रसङ्ग झिक्दै जिज्ञासा राखेका थियौ- “हामीहरू तल्लो जातका मानिस हौं ?” । मलाई यस घटनाले धेरै दिनसम्म चिमोटेको थियो । र, आज पनि यो प्रश्नले मलाई असाध्यै गह्रुङगोसँग थिचिरहेछ । त्यत्तिबेला मैलै तिमीहरूसँग ‘कसले भन्यो, यो कसरी थाहा पायौ ?’ भनेर सोध्ने हिम्मतसमेत गर्न सकिन । तिमीहरूको अबोध मस्तिष्कलाई मेरो जीवनमा आएको सबैभन्दा कठिन प्रश्नको उत्तर कसरी बुझाउन सक्दथें र ? तर गृहकार्य त सक्नु नै थियो । मैले ‘विश्वकर्मा भनेका असाध्यै श्रम गर्ने, फलाम, तामालगायत धातुका भाँडाकुँडा र सुनचाँदीका गरगहना बनाउने कालिगढ तथा हतियार बनाउने इन्जिनियर जातिहरू हुन्- हामी कसरी सानो हुन्छौं ?’ भनेर मोटोरुपमा सम्झाएको यादै होला । तर सामन्ती–व्राह्मणवादी राज्यसत्ताले लामो समयदेखि लादेको छुवाछूत–विभेदसहितको श्रम शोषण–उत्पीडन र दमन गरेका कारण उनीहरू समाजमा सम्मानित र आत्मनिर्भर हुन नसकिरहेको जस्तो ठूलो कुरा कसरी तिमीहरूलाई सम्झाउँ हँ ? मलाई आशा छ, तिमीहरूले गहिरोगरी बुझ्दैजानेछौ । र, मलाई विश्वास छ, यसरी बुझ्दै जाँदा आफूले पक्कै हिनताबोध गर्नेछैनौं ।

याे पनि पढ्नुस  जनयुद्धकै आधार इलाकामा दलितमाथि चरम हिंसाले जन्माएका गम्भीर प्रश्न
                                                                  लेखक पदम विश्वकर्मा आफ्ना छाेराहरुसँग

प्रिय मानव/मौलिक !

हाम्रो घर परिवारको सजिलै पहिचान नखुल्ने बैकल्पिक थर हुँदाहुँदै तिमीहरुको जन्म दर्ता वा विद्यालयमा ‘विश्वकर्मा’ थरबाटै नाम लेखाइदिएँ । हाम्रै पुस्ताका मेरा कैयौ साथीहरु र आफन्तहरुको सल्लाहबिरुद्ध यसरी उभिनुपर्दा मैले कतै गल्ती त गरिरहेको छैन भन्ने महशुस पनि बेला बेलामा नभएको होइन । तर मलाई भरोशा छ, भविश्यमा पनि तिमीहरुले यही थरबाटै आफ्नो गर्विलो पहिचान बनाउनेछौ । त्यसो त यही मेरो थर स्पष्ट खुलेका कारण विद्यालय–विश्वविद्यालय पढ्दाताका प्रिय साथीहरूदेखि आदरणीय शिक्षकसम्म, कथित ठूला जातका अभिभावकदेखि सम्मानित व्यक्तित्वहरूसम्म, घरभेटीदेखि काम गर्ने सहकर्मीहरुसँग सामना गर्नुपरेका ‘दया-माया’सहितको घृणा, अपमान, भेदभाव र छुवाछूतको हिसाब-किताब त तिमीहरूका अगाडि पस्कन सक्दिन । मलाई अहिले डर लागिरहेछ, मैले भोगेका विभेद र वहिष्कारका घटनाहरू तिमीहरूले पनि फरक रुपमा र थाहा नपाइकनै सामना गर्नुपर्ने हो कि ।

याे पनि पढ्नुस  दलितमाथि छुवाछूत गर्नेलाई संरक्षण गरेको भन्दै प्रदेश सांसद थापाको राजीनामा माग

क्याम्पस पढदाताकादेखि नै क्रान्तिको मोर्चामा खटिरहँदा यो समस्या मेरो पुस्ताबाटै हल गरिन्छ र अर्को पुस्तासम्म पुग्दा पूर्णरुपमा उन्मूलन गरिनेछ भन्ने दृढता थियो । बुझ्दै जाँदा थाहा पाएँ- अनटच्याविलिटीको समस्या त राज्यसत्ताको आडमा शासकहरूले लामो समयदेखि निरन्तर चलाएको सबैभन्दा ठूलो सांस्कृतिक र मनोवैज्ञानिक हतियार रहेछ । त्यसको अन्त्यका लागि पछिल्लो समयमा सञ्चालित जनयुद्ध तथा जनआन्दोलनजस्ता ठूला परिघटनाहरूको हिस्सेदार र साक्षी बनेको मैले आफूलाई अहिलेको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक नेपालमा उभ्याउँदा कहिलेकाहीं गहिरो पीडा हुन्छ । तर, कहिल्यै निराशाको गन्धलाई वाहिर नलैजाने स्वभावको तिमीहरूको बाबा अन्तिम निश्कर्षमा सोच्दैछ–सच्चा क्रान्ति त बाँकी नै छ ।

जनयुद्धका योद्धाहरू जो कसैले (आफन्त नै किन नहोस् ) छुवाछूत गरेको गन्ध भेट्टाउने वित्तिकै जस्तोसुकै कारवाही गर्न अग्रसर हुन्थे । तर अहिले त्यही ठाउँका तत्कालीन योद्धाहरू यस घटनालाई ढाकछोप गर्न कम्मर कसेर लागिरहेको दृश्य देख्दा योभन्दा ठूलो दुःखलाग्दो वर्तमान हाम्रालागि अरु के हुनसक्ला र ?

रुकुमको चौरजहारीमा हालै प्रेमको बदलामा लखेटिएर मारिएका नवराज विश्वकर्मा र उनका पाँचजना साथीहरू यही ‘अनटच्याविलिटी’ बिरुद्ध उभिएका सांस्कृतिक शहीद हुन् । अहिले थाहा पायौ होला । जनयुद्धको उद्गम थलो उक्त ठाउँमा त्यसताका कैयौं अन्तरजातीय मागी विवाह र सांस्कृतिक अन्तरघुलनहरू भएका थिए । यो त्यही जिल्ला हो, जहाँ छुवाछूत र विभेदमुक्त इलाकाहरू घोषणा गरिएका थिए । जनयुद्धका योद्धाहरू जो कसैले (आफन्त नै किन नहोस् ) छुवाछूत गरेको गन्ध भेट्टाउने वित्तिकै जस्तोसुकै कारवाही गर्न अग्रसर हुन्थे । तर अहिले त्यही ठाउँका तत्कालीन योद्धाहरू यस घटनालाई ढाकछोप गर्न कम्मर कसेर लागिरहेको दृश्य देख्दा योभन्दा ठूलो दुःखलाग्दो वर्तमान हाम्रालागि अरु के हुनसक्ला र ? अस्तीमात्र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभामा बोलेको कुरा सामाजिक सञ्जालमा भाइरल भएको भिडियो हेर्ने मौका पाएँ । उनले जातपात र छुवाछूत अन्त्यको लागि सबै नागरिकहरूले ‘विश्वकर्मा वा कामी’ थर लेख्न हौस्याउँदै थिए । उनको लज्जाबोधसहित लरबराएको आग्रहमा गरिएको गहिरो उत्तर नै हामीहरूको सरनाम ‘विश्वकर्मा’को परिचय हो । रुकुममा भएको नरसंहाररुपी प्रतिक्रान्तिको घटनासम्बन्धमा उनको विश्लेषण सहिं हुँदाहुँदै पनि भावनात्मकरुपमा उनले जे कुरा गरे, त्यो भनें मलाई दमदार लागेन ।

याे पनि पढ्नुस  कहाँ हराए जातको कुरा गर्दा भाटे कार्वाही गर्ने जनयुद्दका कमाण्डरहरू ?

अन्त्यमा, भविश्यमा आफूँ कुन पेशा वा व्यवसाय गर्ने भन्ने कुरा छनौट गर्नमा तिमीहरू स्वतन्त्र रहनेछौ । म प्रतिबद्धता गर्छु, यसबारेमा बाबा वा मम्मीबाट कुनै पनि प्रकारको हस्तक्षेप हुनेछैन । तर तिमीहरूसँग एउटै अनुरोध छ- तिमीहरूको अहिलेको अवधि नै पठनपाठनको जग बसाउनु हो । त्यसमा दत्तचित्त भएर लाग । शिक्षकहरूले दिएको काम र जिम्मेवारीलाई उहाँहरूले आशा गरेको भन्दा राम्रो तरिकाले सम्पन्न गर । त्यसो गर्यौ भनें मात्र तिमीहरूको नामको पछाडि लेखिएको थर ‘विश्वकर्मा’ले तिमीहरूका साथीहरू, गुरुहरू, अभिभावकहरू तथा छरछिमेकहरूले छुवाछूत–विभेद गर्ने आँट गर्नेछैनन् । यस्तो महशुस भएमा पनि तिमीहरूले सजिलै सामना गर्न सक्नेछौं ।

तिमीहरूलाई माया गर्ने बाबा: पदम
जनकपुर, धनुषा ।
जेठ २०, २०७७

कमेन्ट गर्नुहोस्