गोकुल बाँस्कोटाको टिप्पणी, ‘कांग्रेसको खास्टोमा बिरालो म्याउँ गरी छाड्यो’

काठमाडौंः नेपाली कांग्रेसले संविधान संशोधन विधेयक दर्ता गराएको छ ।

नेपाली कांग्रेसका सभापति एवम् तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व गरेको सरकारले अघिल्लो संसदमा प्रस्तुत गरेको संविधान संशोधनको विधेयक पुनः दर्ता गर्न केन्द्रीय कार्यसमिति बैठकले जेठ १७ गते संसदीय दललाई निर्देशन दिने निर्णय गरेको थियो । सोही निर्देशन बमोजिम कांग्रेसका ८ सांसदले मंगलबार संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गराएका थिए ।

सरकारले लिम्पयाधुरासहितको नक्सा जारी गरेर संविधान संशोधन गर्न विधेयक संसदमा दर्ता गराएका बेला कांग्रेसले पनि संविधान संशोधनको विधेयक दर्ता गराएको भन्दै पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले विरोध जनाएका हुन् ।

याे पनि पढ्नुस  कांग्रेसले डाक्यो आकस्मिक बैठक

उक्त प्रस्ताव दर्ता गराएकोबारे बाँस्कोटाले त्यसलाई कांग्रेसको खास्टोमा रहेको बिरालो आखिर म्याउँ गरी छाडेको भनेर टीप्पणी गरेका छन् ।

सत्तारुढ दल नेकपा नेता रहेको बाँस्कोटाले आन्तरिक राजनीतिक मुद्दामा पछि छलफल गरे हुने भन्दै राष्ट्र र राष्ट्रियताका विषयमा अनुचित उद्देश्यसहित किचलो झिक्नु कति शोभनिय हो ? भनेर प्रश्न गरेको छन् ।

यस्तो छ बुधबार बिहान सामाजिक सञ्जालमा बाँस्कोटाले गरेको ट्वीट:

देउवा नेतृत्वको सरकारले अघिल्लो संसदमा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्तावमा दुई तिहाइ पुर्याउन नसकेपछि फेल भएको थियो । तत्कालीन नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत दलहरुले संशोधनका विपक्षमा मतदान गरेपछि कांग्रेसको संविधान संशोधनको प्रयासले पूर्णता पाउन सकेको थिएन ।

याे पनि पढ्नुस  कांग्रेस नेता पौडेलको आरोप- नेकपा सरकारले राज्य आतंक मच्चायो

देउवा नेतृत्वको सरकारले दर्ता गरेको संशोधन विधेयकमा भाषा, नागरिकता, राष्ट्रियसभामा प्रतिनिधित्व र सीमाङ्कनमा संशोधनका लागि संविधानको धारा ६, ७, ११, ८६, २८७ र अनुसूची ४ मा संशोधन गर्ने प्रस्ताव समेटिएको थियो ।

मंगलबार कांग्रेस सांसदहरूले गैरसकारी विधेयकका रुपमा दर्ता गराएको संशोधन विधेयकमा प्रदेशको सीमाना हेरफेर, नागरिकता, भाषा र राष्ट्रिय सभाको प्रतिनिधित्वको विषयमा संशोधन गर्ने प्रस्ताव छन् ।

कमेन्ट गर्नुहोस्