भारतमा १ लाख संक्रमितले जिते काेराेना

काठमाडौंः भारतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण मुक्त भएर घर फर्किनेको संख्या १ लाख नाघेको छ । अहिलेसम्म भारतमा १ लाख ३०३ संक्रमित निको भएका भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा करिब ५ हजार संक्रमित निको भएका हुन् । पछिल्लो समय भारतमा संक्रमितका साथै निको हुनेको संख्या पनि बढिरहेको छ ।

त्यहाँ अहिलेसम्म समग्र संक्रमितको संख्या २ लाख ७ हजार ६ सय १५ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ८ हजार ९ सय ९ नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै, अहिलेसम्म भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ हजार ८१५ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट २१७ जनाको मृत्यु भएको हो ।

याे पनि पढ्नुस  अर्थतन्त्र उकास्न कृषिको विस्तार उत्तम विकल्पः नेता पौडेल

भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा ७२ हजारभन्दा बढी मानिसमा कोरोना संक्रमण देखिँदा २ हजार ४६५ जनाको मृत्यु भइसकेको छ । त्यस्तै तामिलनाडुमा २४ हजारभन्दा बढीमा संक्रमण देखिएको छ भने १९७ जनाको मृत्यु भइसकेको छ ।

दिल्लीमा पनि २२ हजारभन्दा बढी मानिसमा यसको संक्रमण देखिँदा ५५६ जनाको मृत्यु भएको छ । गुजरातमा १७ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिँदा एक हजार ९२ जनाको मृत्यु भएको छ ।

याे पनि पढ्नुस  चीनमा बलात्कार गर्न खोज्दा महिलाले कोरोना भएको भनेपछि...

पश्चिम बंगालमा ६ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिँदा ३३५ जनाको मृत्यु भइसकेको छ । उत्तर प्रदेशमा ८ हजारभन्दा बढीमा संक्रमण देखिँदा २२२ जनाको मृत्यु भएको छ । बिहारमा ४ हजार १ सयभन्दा बढी संक्रमित छन् भने २४ जनाले ज्यान गुमाएका छन् ।

कमेन्ट गर्नुहोस्