भक्तपुरमा होल्डिङ सेन्टर निर्माण हुँदै, सिसीएमसीको टोलीद्वारा अवलोकन

भक्तपुरः  सरकारले विदेशबाट ल्याउने प्रदेश नं १ र २ का नागरिकलाई भक्तपुरमा राखेर पठाउने भएपछि नेपाली सेना वीरदल गण भक्तपुरको नेतृत्वमा होल्डिङ सेन्टरको निर्माणको काम तीव्र गतिमा भएको छ ।

प्रदेश नं १ का नागरिकलाई सूर्यविनायक नगरपालिका-५ कटुञ्जेस्थित इम्पेरियर बैंक्वेट र प्रदेश नं २ का नागरिकलाई मध्यपुरथिमि नगरपालिका-४ स्थित हेरिटेज बैंक्वेटमा राखिने भएपछि सेनाको टोलीले गरेको तयारीको बुधबार कोभिड-१९ क्राइसिस म्यानेजम्यान्ट सेन्टर (सिसीएमसी) को टोलीले अनुगमन गरेको छ ।

प्रधानमन्त्रीको कार्यालय, परराष्ट्र, स्वास्थ्य तथा जनसङ्ख्या, सामान्य प्रशासन, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिसीएमसीमा रहेका संयुक्त टोलीले यसको तयारीको अवस्थाबारे जानकारी लिन आज होल्डिङ सेन्टरको अवलोकन गरेको हो ।

अनुगमन टोलीलाई जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले जिल्लामा आइपर्ने विभिन्न समस्याका बारेमा सिसीएमसीको निर्देशिकाले स्पष्ट नबोलेको भन्दै सहजरूपमा काम गर्ने गरी अधिकार दिनुपर्ने बताए ।

याे पनि पढ्नुस  भर्‍याङबाट धकेलेर आफ्नै भाईको हत्या

खाना खर्च कसले व्यहोर्ने, पैसा तिर्न नसक्नेले के गर्ने, यहाँका स्वयंसेवक एवं कर्मचारीका लागि खाना, पानीलगायतको व्यवस्थापन कसरी गर्ने कुनै स्पष्ट नीति नहुँदा जिल्लास्थित सिएमसी समस्यामा परेको उनको भनाइ थियो । “जिल्लाको सिएमसीलाई यहाँका अवस्थाअनुसार काम गर्न सक्ने गरी सहज व्यवस्था गर्नुपर्यो, सबै काम सिएमसीले गरोस् भन्ने बजेट चाहिँ नदिने, यसरी कसरी काम गर्न सकिन्छ ?, जिसस प्रमुख गेलालले भने, “ १०/१२ लाखले के गर्ने ?, कोरोना राहत कोषमा भएको रकम खर्च गरेर भए पनि सरकारले सहज व्यवस्थापन गर्नुपर्छ ।”

जिल्लास्तरीय सिएमसीको संयोजक एवं प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले विदेशबाट फर्किएर होल्डिङ सेन्टरमा आउनेका लागि आवश्यक मास्क, स्यानिटाइजरजस्ता स्वास्थ्य सामग्री आवश्यक रहेको, यहाँसम्म आउने र जानेहरुको गाडी भाडाको व्यवस्थापन, होल्डिङ सेन्टर बनाइएका पार्टी प्यालेसलाई तिर्नुपर्ने भाडा, यहाँ आउने र बस्नेका लागि खाना, पानीजस्ता सामान्य कुराको व्यवस्थापनमा जरुरी रहेको बताइन् ।

याे पनि पढ्नुस  भक्तपुर क्यान्सर अस्पताललाई भाभाट्रोन रेडियो थेरापी दिने माेदीकाे घाेषणाले विरामी हर्षित

नेपाली सेना वीरदल गणका गणपति कर्नेल शिव पौडेलले एयरपोर्टबाट सेल्टरमा आएपछि राख्नेदेखि प्रदेश पठाउनेसम्म गरिएको तयारीका बारेमा जानकारी दिए । एउटा सेल्टरमा एक हजारसम्म राख्न सकिने गरी व्यवस्थापन गरिएको र आवश्यक परेमा एउटा सेल्टरमा बढीमा २० जनासम्म सुत्न मिल्ने गरी व्यवस्थापन गरिएको बताए ।

उनले निःशुल्क सिमकार्ड वितरण, ज्वरो नाप्ने, स्वास्थ्य अवस्था जानकारी लिने, एक छाक खाना खुवाउने, आराम गर्ने व्यवस्था गरिएको र एम्बुलेन्स, चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाइने बताए । विदेशबाट फर्किएका भक्तपुरका नागरिकका लागि भने सल्लाघारीको चौरमा ल्याएर सम्बन्धित नगरपालिकाले आ–आफ्नो नगरका नागरिकको जिम्मेवारी लिएर क्वारेन्टिनमा लैजाने व्यवस्था गरिएको छ । एयरपोर्टबाट सेल्टरमा ल्याएकालाई प्रदेश सरकारको समन्वयमा जतिसक्दो छिटो पठाउने व्यवस्था गर्नुपर्ने, पानीलगायत प्याकिङ खाजा किन्न मिल्ने गरी डेस्क राख्नुपर्ने र निर्देशिकाले तोकेको भन्दा तलमाथि गर्न नपाउने व्यवस्था गरिएको छ ।

याे पनि पढ्नुस  पूर्वमन्त्री बस्नेत भन्छन्, ‘उपचुनावलाई प्रभाव पार्ने गरी पैसा बाँड्ने तत्वको पैसा कब्जा गर्नुस्’

विदेशबाट फर्किएका भक्तपुरका नागरिकलाई राख्न सिएमसीले चारवटै नगरपालिकालाई क्वारेन्टिनको व्यवस्था गर्न पत्राचार गरेर तयारी गरिरहेको, प्रदेश पठाउने नागरिकको हकमा दुईवटा बैंक्वेटसँगै आवश्यकता परेमा खरिपाटीस्थित क्वारेन्टिन, सानोथिमि क्याम्पसलगायतका क्षेत्रका क्वारेन्टिनमा पूर्णरूपमा मानवअधिकारको पालना गर्ने गरी तयारी गरेको जानकारी दिए । रासस

कमेन्ट गर्नुहोस्