आज राती साढे ११ बजेदेखि चन्द्रग्रहण

काठमाडौंः शुक्रबार राती साढे ११ बजेदेखि पौने ३ बजेसम्म पेनम्ब्रल चन्द्रग्रहण लाग्ने भएको छ ।

नेपाल एष्ट्रोनोमिकल सोसाइटीले दिएको जानकारीअनुसार सन् २०२० को दोस्रो पेनम्ब्रल साढे ११ बजेदेखि सुरू भएर १ बजेर ९ मिनेटमा मध्य हुनेछ भने २ बजेर ४९ मिनेटमा सकिनेछ ।

यो चन्द्रग्रहण खग्रास वा खण्डग्रासभन्दा भिन्न खालको चन्द्रग्रहण भएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

याे पनि पढ्नुस  शुक्रबार राति शताब्दीकै लामो खग्रास चन्द्रग्रहण

‘सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ’ उनले भने, ‘चन्द्रग्रहण भनेको पृथ्वीको छाँया चन्द्रमामा पर्नु हो । यसमा बिरल छाँया पर्ने हुनाले यसलाई पेनम्ब्रल भनिएको हो ।’

उनका अनुसार सघन र बिरल गरी छाँया २ प्रकारको हुन्छन् । साथै पेनम्ब्रल चन्द्रग्रहणबारे नेपाली पात्रोमा पनि समावेश गरिएको पाइँदैन ।

याे पनि पढ्नुस  ११ र १२ साउनमा शताब्दीकै लामो चन्द्रग्रहण

‘यो हाम्रो आँखाले देख्न मुस्किल छ। जसकारण हाम्रो नेपाली पात्रोमा पनि यसबारे समावेश गरिएको देखिन्न’ अध्यक्ष भट्टाराईले भने ।

वैज्ञानिकहरूका लागि यो ग्रहण अध्ययनको विषय हुने भएकोले महत्वपूर्ण मानिएको छ। यसअघि २०७६ पुष २५ गते शुक्रबार राति पनि यस्तो खालको चन्द्रग्रहण देखिएको थियो।

याे पनि पढ्नुस  मिथुन उल्कावर्षा मंसिर २८ गते रातभर सक्रिय रहने

पेनम्ब्रल ग्रहणलाई यसअघि नेपाली नाम दिन खोजिए पनि चलनचल्तीमा आएको पाइँदैन । एस्ट्रोनोमिकल सोसाइटीका अनुसार यसअघि पेनम्ब्रललाई ‘बिरल छाँयाजनिक चन्द्रग्रहण’ भन्ने शब्द राखिएको थियो । तर त्यो नाम बुझ्न गाह्रो हुने देखिएपछि सोसाइटीले पेनम्ब्रललाई नै प्राथमिकतामा राखेको हो ।

कमेन्ट गर्नुहोस्