रुपन्देही हत्याकाण्डः के भन्छन् संयोगले बाँचेकाहरू ?

बुटवलः रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, मैनहियामा सोमबार सामूहिक हत्या भएको फर्ममा त्यो रात आठ जना बसेका थिए । पाँच जनाको हत्या भए पनि दुई जना भने संयोगले बाँचे ।

उनीहरू हुन्, मृतक माधव मुसहरका सात वर्षीय छोरा अर्जुन मुसहर र करिब १९ वर्षीया साली बोलरी मुसहर । सोही रात त्यहाँ रहेका अर्का व्यक्ति झसेन्द्र सिञ्जाली भने हत्या आरोपमा पक्राउ परेका छन् ।

सबै बाहिर सुते पनि उनीहरू दुई जना अर्को कोठामा सुतेका थिए । बाँच्न सफल बोलरीका अनुसार राति एक बजेतिर झसेन्द्रले बाहिरबाट जिस्क्याउँदै बोलाएका थिए । र, आफूलाई वरिपरिका गाउँलेले नराम्रो मान्ने गरेको बताएका थिए ।

रक्सी खाएको र हातमा लठ्ठी रहेको देखेपछि बालरीले चुक्कुल लगाएर ढोका बन्द गरे । एक छिनपछि ढोका खोलेर हेर्दा अगाडिपट्टि सुतेको ठाउँमा दिदी–भिनाजु देखिनन् । अन्त सुते होलान् भनेर उहाँ ढोकाको चुक्कुल लगाएर फेरि सुतिन् ।

याे पनि पढ्नुस  तिलोत्तमाका प्रमुख र उपप्रमुख चढ्ने गाडीले कोरोना सङ्क्रमित बोक्ने

बिहान साहु आएर बोलाएपछि मात्र आफूले घटनाबारे थाहा पाएको बालरीले बताएन् । दिदी–भिनाजुलाई भेट्न आएकी उनी केही दिनदेखि यहाँ बसेकी थिइन् । मृतक माधव मुसहरका छोरा करण मुसहर अन्तै काम गर्ने भएकाले त्यहाँ सुत्नुभएको थिएन ।

प्रहरीका अनुसार उक्त रात फर्ममा मिटरबक्सबाट बिजुलीको लाइन बन्द गरिएको थियो । बिजुली झसेन्द्रले नै काटेको अनुमान छ । बिहान दूध लिन जाँदा मात्र फर्म सञ्चालक कृष्णबहादुर पुनले कामदारहरू ढलेको देखेका थिए ।

मृतकमध्ये तीन कामदार, दुई स्थानीय

रुपन्देही प्रहरीका एसपी हेम थापाका अनुसार हत्या गरिएका पाँच जनामध्ये तीन जना सोही फर्मका कामदार र दुई जना स्थानीय हुन् । तीमध्ये ४० वर्षीय माधव मुसहर, ३७ वर्षीय जानकी मुसहर श्रीमान–श्रीमती हुन् । उनीहरू रुपन्देहीको सैनामैना नगरपालिका–५ दर्खासीका हुन् ।

याे पनि पढ्नुस  मध्यावधि चुनाव जनताको हितविपरित : मेयर घिमिरे

१५ वर्षीय बालक पोखराज मुसहर अनाथ हुन् । उनलाई फर्म सञ्चालक पुनले पालेका थिए । १६ वर्षीय करण चौधरी र आशिष चौधरी स्थानीय हुन् । त्यस दिन उनीहरू त्यहीँ सुतेका थिए । पोखराजका साथी उनीहरु प्रायः मोबाइल चलाउन त्यहाँं जान्थे ।

झसेन्द्रको विगत

हत्या आरोपमा पक्राउ परेका झसेन्द्रको घर सुर्खेत हो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार डेढ महिनाअघिदेखि उनी सो फर्ममा काम गर्दथे ।

यसअघि उनी र उनकी श्रीमतीले रुपन्देही तिलोत्तमाको शिवपुरस्थित अर्को पशु तथा कृषि फर्ममा काम गर्थे । स्थानीयका अनुसार श्रीमान–श्रीमती दिनहुँ झगडा गर्थे । अहिले श्रीमती साथमा छैनन् । उनी पारिवारिक तनावमा देखिन्थे ।

याे पनि पढ्नुस  मध्यावधि चुनाव जनताको हितविपरित : मेयर घिमिरे

मङ्गलबार बिहान फार्मभित्रै धानको भुसमा लुकेर बसेको अवस्थामा प्रहरीले झसेन्द्रलाई पक्राउ गरेको हो । स्थानीयका भनाइमा अरु बेला मानसिक सन्तुलन नभएजस्ता देखिने झसेन्द्रले प्रायः रक्सी खान्थे । तर ठूलो झगडा भएको स्थानीयलाई थाहा छैन ।

मृतक माधवका छोरा करणका भनाइमा गत १४ गते फर्ममा झसेन्द्रले झगडा गरेका थिए । त्यो बेला आफूसँग धेरै कचकच गरे मार्दिने धम्की दिएका थिए ।

प्रदेश प्रहरी घटनास्थलमा

घटनाको सुक्ष्म अनुसन्धान गर्न प्रदेश ५ को प्रहरी टोली घटनास्थलमा खटेको छ । प्रदेश प्रहरी प्रवक्ता, एसएसपी राजकुमार बैदवारको नेतृत्वको टोली मङ्गलबार नै घटनास्थल आइपुगेको छ ।

प्रवक्ता बैदवारले मङ्गलबारबाटै अनुसन्धान शुरु गरिएको बताए । उनले प्रहरी छिट्टै घटनाको गहिराइमा पुग्ने बताए । गोरखापत्र

कमेन्ट गर्नुहोस्