डायरीः यहाँ छैन कोरोना, निर्धक्क काममा लागेका छन् मानिसहरू

गोकर्ण भट्ट, सुर्नया बैतडी । कमल साउजीको सानो होटलमा भीड छ । गाउँमा साँझबिहान स–साना होटलमा मानिसहरू झुम्मिनु र तम्बाखु चुरोटसँगै देश दुनियाँका कुरा गर्नु सामान्य नै हो ।

राजनीति यहाँ पनि छ । देशका सबै घटनामा उनीहरू आ–आफ्ना तर्क राख्छन् । यी तर्कहरु बहसमा जित्नैपर्ने प्रकृतिका हुन्छन् ।

‘ओलीले देश डुबायो’, एउटाले तर्क गर्याे ।

‘डुबायो कि जोगायो, तिम्रा नेताले चैं के नापेका छन्,र ?’ अघि प्रश्न गर्नेको हातबाट हुक्का तान्दै अर्काेले भन्यो ।

अनि सुरु भयो बहस । यी बहसहरू अचम्मकै हुन्छन् । त्यहाँ किंवदन्तिहरू तर्कका रूपमा आउँछन् । दुइतीन चोटी हुम्का जोतिन्छ । साँझ पर्छ अनि सबै बाटो लाग्छन् ।

यो नियमित प्रक्रिया हो । एउटा रमाईलो पनि ।

र, आज भने साहुजिको होटलमा कोरोना छिरेको छ ।

‘क्वारेन्टाइनमा मान्छे थपिए, के जाति छैन रे, जाँच गर्न पाएनन्’, एकजनाले भन्यो ।

‘यो कोरोना सोरोना केही होइन । बजेट खाने मेलो हो’, लगत्तै प्रत्युत्तर सुनियो ।

अचम्म के भने उनीहरु कोरोनाको कुरा यसरी गर्छन् मानौं साँच्चिकै कोरोना एउटा ईतिहासको कथा हो ।

याे पनि पढ्नुस  नेपालमा किन ह्वात्तै बढ्यो कोरोना ?

उनीहरूको कुरा चलेकै बेला आधा दर्जन महिला आउँछन् । सबैको हातमा नाम्लो छ ।

उनीहरूले एकएक कट्टा सिमेन्टको भारी बोक्छन् र लाग्छन गन्तव्यतिर ।

यो दैनिकी प्रतिदिन चलिरहन्छ । मानिसहरूको पुरानै डायरिले यो कालमा पनि निरन्तरता पाएको छ ।
….
यो बैतडी जिल्लाको पूर्वी क्षेत्र हो ।

काठमाडौंको कोरोना त्रासबीच म यहाँ आइपुगेको छु ।

खोडपे बजारबाट बझाङ जाने सडकमा केही किलोमिटर गाडीमा हिंडेपछि एउटा मोड आउँछ । म त्यहीँ ढोल्या मोडबाट तल पश्चिमतर्फ ओरालो झरेर कठमडा गाउँ आइपुगेको छु ।

हामी आधा दर्जनको संख्यामा छौं । डाक्टरदेखि पत्रकारसम्म ।

पत्रकार गोकर्ण भट्ट 

शुरूमा गाउँ छिर्दा असहज लागेको थियो हामीलाई । तर अचम्म, गाउँ पुग्दा त्यहाँ हाम्रो उपस्थिति न त अस्वीकार्य भयो न विष्मयको विषय नै । उल्टो, हामी गाउँ पुग्दा स्वागत गरे उनीहरूले ।

काठमाडौंको मानसिक यातनाबाट टाढा प्रकृतिको काखमा न्यानो सत्कार पाउनु कोरोना समयको ठूलै उपलब्धि मान्नुपर्छ । चारदिन कठमडा बस्दा त्यहाँ कोरोना छिरेन । न कोरोनाको त्रास नै । यदाकदा टेलिभिजनमा समाचारबाट कोरोना सुनिन्छ, तर, मानिसहरुको जीवनमा त्यस्तो उल्लेख्य असर गरेको देखिन्न ।

याे पनि पढ्नुस  काठमाडौं उपत्यकाका यी ११ स्थानमा थपिए आज कोरोना संक्रमित

मानिसहरु आफ्नै दैनिकीमा व्यस्त छन् । रोपाईं र मकै गोडने चटारो छ । सडकदेखि अन्य निर्माणका काममा ज्यालादारी गर्न व्यस्त छन् केही महिलाहरू । युवक पुरुषहरुको त्यति उपस्थिति देखिन्न ।

अचम्म, कोरोना कालमा शिक्षा व्यस्थापनबारे ठूल्ठूला बहस चलेको बेला यो क्षेत्रमा रहेको एकमात्र बोर्डिङ स्कुल हिजोदेखि सञ्चालनमा आएको छ ।

स्वास्थ्यचौकीमा कोरोनाका पोष्टर देखिन्छन् । तर त्यहाँ कोरोनाबारे सोध्ने या जाँचको कुरा गर्न कोहि आउँदैनन ।

कठमडा मात्रै होइन, सुरनया गाउँपालिकाका अधिकांश गाउँहरुमा जनताको दैनिकीमा कुनै असहजता देखिंदैन । पसल खुलेकै छन् । बाहिरबाट आउने सबैलाई गाउँपालिकाले क्वारेन्टाइनमा राखेको छ । कतिपय भने क्वारेन्टाइन अवधि काटेर घर फर्किसकेका छन् ।
….
त्यसो त बैतडी जिल्ला भारतबाट नेपाल फर्किने प्रवासी कामदारहरुको उल्लेख्य संख्या भएको जिल्ला हो । यहाँ हजारौ मानिसहरू भारतका विभिन्न भेगबाट गाउँ फर्केका छन् । अहिले पनि हजार बढी क्वारेन्टाइनमै होलान । तर जोखिमको अवस्था भने प्रचार गरेजस्तो छैन ।

याे पनि पढ्नुस  कोरोना संक्रमणको खतराकाबीच अमेरिकामा प्रदर्शन, ट्रम्पले गरे समर्थन

केही गाउँहरुमा जोखिम अवश्य छ तर जिल्लाका कतिपय क्षेत्र सुरक्षित छन् । स्थानीय तहहरुले पर्याप्त कोशिस गरेका छन् ।

अहिले भने हामीले शुरूको गन्तव्य कठमडा छोडेर पश्चिमतर्फ यात्रा शुरू गरेका छौं । यो गाउँपालिकाका सबै वडाका प्रतिनिधि महिला तथा जनप्रतिनिधिहरुसँग हाम्रो साक्षात्कार हुनेछ । यो गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष र नेकपाले उपाध्यक्षमा जितेको थियो । गाउँपालिकामा दुबै सक्रिय भूमिकामा देखिन्छन् । गाउँपालिकामा कोरोनाबारे आवश्यक सतर्कता छ तर अनावश्यक त्रास सिर्जना हुन दिइएको छैन ।

यहाँ सबै गाउँमा नेटवर्कले साथ दिन्न । तर लाग्छ, कहिलेकतहि नेटवर्कको अभाव पनि वरदान हुँदो रहेछ । भागदौड, व्यस्तता भन्दा टाढाको संसार । त्यसैले काडमाडौंमा लक डाउनका ८० भन्दा बढी दिनमा भोग्नुपरेको न्यास्रोपना यहाँ ४ दिन बस्दा मेटिएको छ ।

कोरोना याममा पनि यहाँ जीवन भेटिन्छ । दुख छ, कष्ट छ तर त्रास छैन, भय छैन । संकट छ र, पनि मानिसहरु आत्मैदेखि मुस्कुराउन भने छोडेका छैनन् ।

कमेन्ट गर्नुहोस्