‘जुम मिटिङ’मा नरेन्द्र मोदी छिरेर प्ले गरेका थिए पोर्न भिडियो

काठमाडौंः सोमबार दिउँसो १ बजे नेपाल पर्यटन बोर्डले ‘जुम एप’ भर्चुअल बैठक राखेको थियो ।

कोरोना भाइरसले थलिएको पर्यटनलाई कसरी उकास्ने भन्ने विषयमा छलफल थियो । जसमा देशभरबाट २ सय ५९ जना पर्यटन व्यवसायी, उद्यमी र संचारकर्मी सहभागी थिए ।

पर्यटन बोर्डका सीईओ डा. धनञ्जय रेग्मी, वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, पर्यटन बोर्ड सञ्चालक समिति सदस्य दीपक महत, पर्यटन व्यवसायी कर्ण शाक्य, पर्यटन सचिव केदारबहादुर अधिकारीले आफ्नो भनाई राखे ।

अन्तिममा बोल्ने पालो थियो संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको । मन्त्री भट्टराई बोलेको करिब ५ मिनेटसम्म अवस्था सामान्य नै थियो । सबै एकनासले मन्त्री भट्टराईको भाषण सुनिरहेका थिए तर एक्कासी करिब १ मिनेट पोर्न भिडियो बज्यो, सबै अचम्मित भए ।

मन्त्रीबाहेक अन्यको माइक्रोफोन म्युट गरिएको थियो। पोर्न भिडियो प्ले भएपछि मन्त्री भट्टराई के बोल्ने के नबोल्ने अलमलमा परे, उनी भाषण गर्दागर्दै केही समय रोकिए र करिब २ मिनेटपछि जुम बन्द गरियो । त्यसपछि सहभागीहरु अचम्मित गर्दै मिटिङ ‘लिभ’ गरेका थिए ।

उक्त पोर्न भिडियो ‘नरेन्द्र मोदी, मनमोहनसिंह र हरिश’ नामबाट प्ले भएको बताइएको छ । बैठक सुरु हुने बेलादेखि नै ह्याकरले समस्या गरिरहेको बताइएको छ ।

मन्त्रालयले सो घट्नाबारे छानविन गर्न समिति गठन गरेको जनाएको छ । बैठक बन्द गरेर वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा मन्त्री भट्टराईलाई भेट्न मन्त्रालय पुगेकी थिइन् । उक्त जुम मिटिङमा देशभरका २ सय ५९ जना पर्यटन व्यवसायी, उद्यमी र सञ्चारकर्मी सहभागी थिए ।

कमेन्ट गर्नुहोस्