तुलसीपुर : दाङमा जनप्रतिनिधि र स्वास्थ्यकर्मीसहित एकै दिन ७६ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।
जिल्लाको बंगलाचुली गाउँपालिकाका ४२ र घोराही उपमहानगरपालिकाका ३४ जनामा कोरोना पोजिटिभ देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
बंगलाचुली गाउँपालिका-२ बाट ८४ जनाको स्वाब संकलन गरिएकोमा ४९ जनाको परीक्षण सकिँदा ३ जना महिलासहित ४२ जनामा कोरोना संक्रमण देखिएको प्रतिष्ठानले जनाएको छ । संक्रमित ५ वर्षदेखि ४४ वर्ष उमेर समूहका छन् ।
बंगलाचुली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भक्तबहादुर जीसीका अनुसार वडा नम्बर(२ का वडाध्यक्ष र एक जना महिला स्वास्थ्य स्वयंसेविकामा पनि कोरोना पुष्टि भएको छ ।
यस्तै बंगलाचुली गाउँपालिका-१ निवासी अर्की एक जना महिला स्वास्थ्य स्वयंसेविकामा पनि कोरोना संक्रमण देखिएको छ । उनको गत जेठ २५ गते प्रावि बढीपोखरा क्वारेन्टिनबाट स्वाब संकलन गरिएको थियो ।
यसअघि दाङमा बंगलाचुली गाउँपालिका-५ र ६ का वडा सदस्य तथा घोराही उपमहानगरपालिका-२ का वडाध्यक्षमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । बंगलाचुली गाउँपालिका-५ का अध्यक्ष भने उपचारपछि घर फर्किसकेका छन् ।
यसैगरी घोराही उपमहानगरपालिकाका वडा नम्बर १, ४ र ५ का ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नम्बर १ का २५ जना, वडा नम्बर ४ का ४ जना, वडा नम्बर ५ का पनि ४ जना र वडा नम्बर १५ का एक जनामा कोरोना संक्रमण देखिएको छ ।
योसँगै दाङमा कोरोना संक्रमितको संख्या ३ सय ८० पुगेको छ ।