बाग्मती प्रदेशमा कोरोना सङ्क्रमण बढ्दै

हेटौँडाः कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै बाग्मती प्रदेशमा परीक्षणको दायरा बढाउन थालिएको छ ।

बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयका कोभिड–१९ का प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईंले कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै परीक्षणको दायरा बढाउने काम भइरहेको बताए ।

कोरोना रोकथाम र नियन्त्रण गर्न क्वारेन्टाइन र आइसोलेसनको शय्या सङ्ख्या र गुणस्तर वृद्धि एवं अन्य व्यवस्थापन गरिएको उहाँले जानकारी दिए । उनले भने, ‘विदेशबाट आएकाहरूको स्थानीयस्तरमा आरडीटी परीक्षणसँगै आरटी–पीसीआर परीक्षण हेटौँडा, भरतपुर, धुलिखेल र काठमाडौं उपत्यकाका गरी आठवटा प्रयोगशालमा भइरहेको छ ।’

बाग्मती प्रदेशमा गत जेठ ९ गतेसम्ममा सात हजार ७७५ स्वाबको नमुना पीसीआर विधिबाट परीक्षण गरिएकोमा कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमितको सङ्ख्या २८ रहेको थियो । यस्तै आरडीटी किटबाट २१ हजार ७१२ जनाको परीक्षण गरिएकोमा ४०६ जनाको पोजेटिभ रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी चार हजार ४३६ क्वारेन्टाइन शय्या सङ्ख्या रहेकोमा ३६७ जना बसेको, ९९५ आइसोलेसन शय्या रहेकोमा ४९ जना बसेको र होम क्वारेन्टाइनमा २८७ जना बसेका थिए ।

एक महिनाको अवधिमा प्रदेशका जिल्लाहरूमा सङ्क्रमित बढेर मङ्गलबारसम्ममा ३२९ सङ्ख्या पुगेको छ भने तीमध्ये निको भएर ८६ जना घर फर्किएका र २३९ जना उपचाररत छन् ।

काभ्रेपलाञ्चोक जिल्ला कोरोना मुक्त भएको छ । गत जेठ २३ गते कोरोना देखिएका पाँच जना नै गत शुक्रबार कोरोना मुक्त भएर घर फर्किएपछि काभ्रेपलाञ्चोक जिल्ला कोरोना मुक्त भएको हो ।

हिमाली जिल्ला दोलखामा भने हालसम्म कोरोना सङ्क्रमण भएको पाइएको छैन । लकडाउन सुरु भएयता एक हजार ३७७ जनाको आरडीटी र १८४ जनाको पीसीआर परीक्षण गरिएकोमा सबैको नेगेटिभ आएसँगै जिल्लामा कोरोना सङ्क्रमण नदेखिएको हो ।

काठमाडौंलगायतका स्थानमा परीक्षण गरेका दोलखा घर भएका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिए ।

बाग्मती प्रदेशको एकमात्र रसुवा जिल्लाका हालसम्म कोरोना सङ्क्रमित भेटिएका छैनन ।

कमेन्ट गर्नुहोस्