भ्वाइस अफ नेपाल : आयोजकले अहिलेसम्म पुरस्कार नदिएको विजेता अधिकारीको गुनासो

काठमाडौंः नेपालको लोकप्रिय गायन रियालिटी ‘दि भ्वाइस अफ नेपाल’ को पहिलो सिजनका विजेता सिडी विजय अधिकारीले डेढ वर्ष हुँदा पनि आफूले सार्वजनिक गरिएको उपहार नपाएको बताएका छन् । उनले आफ्नो आधिकारिक फेसबुकमार्फत् यस्तो बताएका हुन् ।

अधिकारीले फेसबुकमा लेखेका छन्, ‘हजुरहरूले विश्वास गरेर र माया गरेर द भोइस अफ नेपालको उपाधि दिलाइदिनु भएको वर्षौं भाइसकेपनि भोइस टिमबाट बिजेताप्रति खासै चासो, सहयोग, प्रवद्र्धन र लगाव नभएको शंका त मनमा पहिलेदेखि नै लागिरहेको थियो । जब वर्षौं बितिसक्दा पनि सम्पूर्ण प्राइज र म्युजिक भिडियो प्रोजेक्ट हस्तान्तरण गरिनक्नुले म ज्यादै चिन्तित भइसकेको छु र केही कदम चाल्ने मानसिकतामा पुगेको छु ।’

याे पनि पढ्नुस  को–को पुगे भ्वाइस अफ नेपालको ‘टप–८’ मा?

अधिकारीले प्रशंसकलाई यसका लागि आफूलाई सहयोग गर्न तयार भए नभएको पनि जान्न चाहेका छन् । यसबारे उनले लेखेका छन्, ‘मलाई सहयोग गर्न तयार हुनुहुन्छ कि हुनुहुन्नँ, कृपया यति भनिदिनुहोला । यहाँहरुको आशिर्वादले बाँचेको मान्छे अब यहाँहरुकै हात र सल्लाहको डोरी समाएर आफ्नो आगामी कदम चाल्न चाहन्छु ।’

याे पनि पढ्नुस  ‘भ्वाइस अफ नेपाल’ ले प्रतिस्पर्धीलाई १२ लाख भनेर ५० हजारमात्रै दियो!

अधिकारीको उक्त पोस्ट देखेपछि भ्वाइस अफ नेपालका उद्घोषक तथा कार्यकारी निर्माता सुशील नेपालको पनि प्रतिक्रिया दिएका छन् । उनले अधिकारीको फेसबुक स्टेटसले आफूलाई दुःखी बनाएको फेसबुकमार्फत् नै जानकारी दिएका छन् ।

उनले आफूहरूले कसैमाथि आजसम्म अन्याय नगरेको र भविष्यमा पनि नगर्ने प्रस्ट पारेका छन् । उनले लेखेका छन्, ‘मैले पनि सङ्गीत जगतमा केही गर्ने सोचले नै आफ्नो घर जग्गा धितो रोखर शोको सुरुवात गरेँ । कुनै पनि प्रतियोगीबाट एक रुपैयाँ पनि शुल्क लिइनँ बरु एक छाक खाएँ । साथीहरुसँग सर-सापट दिएर काठमाडौंको सबैभन्दा महँगोमध्येको भिल्ला भाडामा लिएर ३६ जना सहभागीलाई खाने बस्ने व्यवस्थामात्रै होइन तिनीहरुले लगाउने अन्तरवस्त्र पनि धोइदिने जिम्मेवारीमा त्यस ठाउँमा राखेँ । ’

कमेन्ट गर्नुहोस्