विप्लवका दाजु हिरासतमुक्त लगत्तै पुनः पक्राउ

दाङ : नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपामा केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमाण्ड इञ्चार्ज ५९ वर्षीय चन्द्रबहादुर चन्द हिरासतमुक्त लगत्तै पुनः पक्राउ परेका छन् ।

संगठित अपराधसम्वन्धि मुद्दामा जिल्ला अदालतबाट १५ हजार धरौटीमा हिरासतमुक्त भएका चन्दलाई जिल्ला प्रहरी कार्यालय दाङले अदालतको गेटबाटै पक्राउ गरेको हो । उनलाई संगठित अपराधकै मुद्दा दोहोर्‍याएर पक्राउ गरी काभ्रे जिल्ला लगिएको छ ।

याे पनि पढ्नुस  विप्लवका दाजु मध्यपश्चिम ब्युरो कमाण्डर चन्द्रबहादुर चन्द दाङबाट पक्राउ

यसअघि राप्ती व्यूरोस्तरीय बैठक बसीरहेको बेला दाङको राजपुर गाउँपालिका–४ मंग्रैठा जंगलबाट ०७६ असोज ३० गते चन्दसहित २१ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले ०७६ पुस ४ गते संगठित अपराधलगायतका मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतले ०७६ पुस ७ गते जनही १५ हजारका दरले धरौटीमा छोड्न आदेश दिएको थियो । पुनः पक्राउ गर्न थालेपछि चन्द्रबहादुर चन्दले धरौटी नबुझाई अहिलेसम्म तुलसीपुर कारागार बसेका थिए ।

कमेन्ट गर्नुहोस्