एमसिसी नेपाल कम्प्याक्टको कार्यान्वयन थालनी मितिबारे पुनःविचार गरिँदै

काठमाडौं : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसीए-नेपाल) को कार्यान्वयनको मितिमा पुनःविचार आवश्यक देखिएको छ ।

मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यान्वयनको तयारी चरणमा उल्लेख्य प्रगति हासिल गरिसकेको भए पनि संसदीय अनुमोदन प्रक्रियामा भएको ढिलाइ र विश्वव्यापीरुपका कोभिड-१९ को महामारीका कारण कार्यान्वयनको थालनी मितिमा पुनःविचार आवश्यक देखिएको एमसिए नेपालले जनाएको छ ।

सङ्घीय संसद्ले एमसिसी सम्झौता अनुमोदन गर्नुपर्ने व्यवस्था छ । एमसिसीका बारेमा सकारात्मक तथा नकारात्मक कोणबाट टीकाटिप्पणी भइरहेको छ ।

एमसिए नेपालले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हालैका दिनमा भने विश्वव्यापी कोभिड-१९ महामारी तथा संसदीय अनुमोदन प्रक्रियामा भएको ढिलाइका कारण कार्य प्रगतिमा अवरोध सिर्जना भएको हुँदा नेपाल कम्प्याक्ट कार्यान्वयन थालनीमा पुनःविचार आवश्यक देखिएको छ ।’

एमसिसी कार्यान्वयनका लागि पूर्वनिर्धारित मिति भोलि मङ्गलबारदेखि तय गरिएको थियो । मङ्गलबारदेखि कम्प्याक्टको कार्यान्वयन थालनी हुन नसक्ने परिस्थिति देखिएको एमसिए नेपालको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘कम्प्याक्टको कार्यान्वयन थालनी मितिमा प्रवेश गर्न र यस कार्यक्रमलाई अगाडि बढाउनका लागि छिटोभन्दा छिटो संसदीय अनुमोदनसहितका बाँकी सबै पूर्वशर्त पूरा गर्नका लागि सम्बन्धित सबै पक्षसँग क्रियाशील रहेको छ ।’

सो परियोजनाको कार्यान्वयनप्रति पूर्ण प्रतिबद्धतासमेत एमसिए नेपालले व्यक्त गर्न चाहेको छ । ऊर्जा र भौतिक पूर्वाधारका क्षेत्रमा नेपाल सरकारको कूल ६४ अर्ब बराबरको परियोजनाका विषयमा सकारात्मक तथा नकारात्मक दुवै कोणबाट टीकाटिप्पणी भइरहेको छ । आयोजनाअन्तर्गत काठमाडौंको नाङ्लेभारेदेखि बुटवलसम्म निर्माण हुने कूल ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ । यस्तै कूल १०० किलोमिटर बराबरको सडक निर्माण हुनेछ ।

आयोजनाको कार्यान्वयनका लागि विभिन्न चरण तथा पूर्वशर्त पूरा भइसकेका छन् । आयोजनाका लागि केही स्थानमा जग्गाप्राप्ति तथा अन्य कामसमेत सुरु गरिसकिएको छ ।

वन क्षेत्रको जग्गा प्रयोग र संसदीय अनुमोदनलगायतका काम भने बाँकी रहेको छ । ती काम अगाडि बढेपछि आयोजना कार्यान्वयनमा जानेछ ।

नेपालको ऊर्जा क्षेत्रका लागि कुल ४०० केभी क्षमताको प्रसारण लाइन असाध्यै महत्वको रहेको र ऊर्जा मन्त्रालयले तयार पारेको प्रसारण गुरुयोजनाको समेत प्रमुख हिस्सा रहेको छ । रासस

कमेन्ट गर्नुहोस्