आज बिहानकै सहमति पनि तोडे ओलीले, पार्टी गम्भीर संकटमा

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमले गम्भीर संकट निम्त्याएको छ ।

लकडाउनकै बेला अध्यादेश घोषणा गरेर पार्टी एकताविरोधी काम गरेको आरोप लागेको ओलीले सहमतिको साटो विग्रहको बाटो रोजेको भन्दै आलोचना चुलिएको छ ।

स्थायी समितिको बैठकमा अधिकांश सदस्यहरुले आलोचना गरेपछि सहमतितर्फ जानुको साटो प्रधानमन्त्रीले पछि नहट्ने ‘अडान’ राखेका कारण पार्टी झन समस्यामा परेको नेताहरु बताउँछन् ।

सरकार तथा पार्टी सञ्चालनमा एकलौटी तरिकाले अघि बढ्न खोजेको भन्दै यसअघि नै सचिवालयको बैठकमा ओलीको आलोचना भएको थियो ।

अध्यादेश जारी गरेपछि चर्केको आलोचना ओलीको आत्मालोचनासँगै साम्य भएको थियो । तर त्यसपछि पनि उनको पुरानै शैलीले निरन्तरता पाएपछि र खासगरी एमसिसीलगायतका मुद्दामा उनले पार्टी विपरित जान खोजेपछि सचिवालयको बैठक बोलाइएको थियो ।

सचिवालयको बैठक चलिरहेकै बेला ओलीले बैठकमा अनुपस्थित हुने तर पार्टीका नेताहरुलाई आक्षेप लगाउने गरी सार्वजनिकरुपमा भने भारतको प्रसंग झिकेर अभिव्यक्ति दिएपछि दुई तिहाई सदस्यहरुले उनको राजिनामा माग गरेका थिए ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्य अवस्था कस्तो छ ?

मंगलबारको बैठकमा भारतले प्रधानमन्त्रीबाट हटाउन खोजेको ओलीको अभिव्यक्तिको चर्को आलोचना भएको थियो । यसैगरी नेकपा एमाले नामक नयाँ दल दर्ता पनि ओलीकै निर्देशनमा भएको गम्भीर आरोप समेत बैठकमा ओलीमाथि लागेको थियो ।

के भएको थियो आज सहमति?

पार्टीको निर्णय नमान्ने र आफ्नो अडानमा कायमै रहने भन्दै ओलीले यो बीचमा बिभिन्न विकल्पमा छलफल शुरु गरेका थिए । प्रचण्ड, माधव नेपाल लगायतका नेताहरुले भने ओलीले पार्टीको निर्णय मान्नैपर्ने र कुनै पनि अप्रिय कदम चाल्न नदिन आवश्यक रणनीति अपनाउने सहमति गरेका थिए ।

बुधबार बिहान प्रधानमन्त्री ओलीसँगको भेटमा समेत कतिपय मन्त्री र स्थायी समिति सदस्यहरुले व्यक्तिगत जीत हारका रुपमा पार्टी विवादलाई नलिन र विधि तथा पद्धतीको पालना गर्नुपर्ने सुझाव दिएका थिए ।

याे पनि पढ्नुस  महाधिवेशनको सहमति भएकै छैन, गलत प्रचार गरेर बैठकको माहोल बिथोल्न खोजियोः प्रचण्ड

बुधबार साँझ नै झम्सिखेलमा स्थायी समितिका सदस्यहरुले समेत ओलीले सहमति नआए पार्टी दुर्घटनामा पर्ने निष्कर्श निकालेका थिए ।

योसँगै ओलीले भने बरु पार्टी फुटोस्, राजिनामा चाहिँ दिन्न भन्ने अड्डी कसेपछि बिहिबार बिहान अर्का अध्यक्ष प्रचण्डले ओलीसँग भेट गर्दै सहमतिका लागि प्रयास गरेका थिए ।

विश्वस्त श्रोतका अनुसार, छलफलका क्रममा ओलीले आफूलाई पेल्दै गएको गुनासो गरेका थिए । प्रचण्डले भने आफूले बारम्बार सहमतिका लागि प्रयास गरेको, सहमतिकै लागि कतिपय पूर्व अडान समेत छोडेको र लचकता देखाएको तर ओलीले भने त्यसलाई कमजोरीका रुपमा लिएर स्वेच्छाचारीरुपमा पार्टी फूटको बाटो रोजेको बताएका थिए ।

सोही क्रममा दुबै नेताका बीच जारी विवादलाई पार्टी कमिटि र पद्धतिगतरुपमा नै हल गर्ने र कुनै पनि संवैधानिक या अन्य किसिमको अप्रिय कदम नचाल्न सहमति भएको थियो ।
“संसद अधिवेशन अन्त्य नगर्न अध्यक्ष प्रचण्डले अनुरोध गरेका थिए ।” श्रोतले भन्यो, “स्थायी समितिमा पर्याप्त छलफल गर्ने, आवश्यक परे पार्टीका अन्य समितिमा समेत छलफलमा जाने तर देश र पार्टीलाई दुर्घटनामा पार्ने कुनै पनि कदम ओलीले नचाल्ने सहमति दुबैबीच भएको थियो ।”

याे पनि पढ्नुस  ओलीलाई बैठक शब्दको ‘एलर्जी’ छ, सत्ता जोगाउन आफैं आन्दोलन गर्न लगाउनु भएको हो : यादव

तर, यो सहमति भएको केही समयपछि मात्रै ओली र राष्ट्रपतिबीच भेट भएको थियो । लगत्तै ओलीले मन्त्रीपरिषदको बैठक बोलाएर संघीय सांसदको जारी बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै राष्ट्रपति समक्ष सिफारिस पठाएका थिए ।

“प्रधानमन्त्री अत्तालिएको देखिनुभयो । राजनीतिक संस्कार देखिएन ।” श्रोतले भन्यो, “पार्टी विभाजन हुने शर्तमा आफ्नो जीत देख्नु वहाँको सबैभन्दा ठूलो समस्या देखियो ।”

कमेन्ट गर्नुहोस्