गगन थापाले भने, ‘पार्टी विवादमा राष्ट्रपति संलग्न हुनु जिम्मेवारीको दुरुपयोग’

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद अहिले चर्चाको शिखरमा छ । देशमा कोरोना महामारीले ठूलो संकट पारिरहेको अवस्थामा नेकपाभित्रको विवाद चर्चाको शिखरमा पुगेको हो ।

पार्टीभित्रको आन्तरिक किचलोले अहिले नेकपा नै फुटकको संघारमा पुगेको चर्चासमेत हुन थालेको छ ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका एकपछि अर्का अभिव्यक्तिका कारण नेकपाभित्रको विवादले झन् उग्र रूप लिएको हो । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामवदेव गौतमको समूहले प्रधानमन्त्री ओलीको राजीनामा समेत मागिसकेका छन् ।

याे पनि पढ्नुस  नवनियुक्त कानूनमन्त्री तुम्बाहाङफेले लिइन् सपथ

बुधबार बसेको उनीहरूबीचको एक भेलाले ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउने निर्णयसमेत गरिसकेको छ । यस्तो निर्णयको प्रधानमन्त्रीले चाल पाएपछि नेकपामा झन् संकटको स्थिति आएको छ ।

प्रधानमन्त्रीले आफ्नो कुर्सी जोगाउनका लागि विभिन्न प्रपञ्च रचिरहेकासमेत सुनिन थालेको छ । आज संसद् अधिवेशन अन्त्य घोषणा गरेसँगै कतै प्रधानमन्त्री ओलीले नयाँ दल दर्ता गर्ने प्रक्रिया त सुरु गरेका होइनन् भनेर आशंका व्यापक उब्जिएका छन् । उनले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि पार्टीको आन्तरिक विवादको विषयमा गम्भीर छलफल गरेको बुझिएको छ ।

याे पनि पढ्नुस  नेकपा विवाद मिलाउन दोस्रो तहका नेताको सक्रियता

यसैबीच, नेपाली कांग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले राष्ट्रपति पार्टीको विवादमा संग्लन भएको भन्दै आरोप लगाएका छन् । उनले यसरी राष्ट्रपति पार्टी विवादमा हुनु र गराउनु जिम्मेवारीको दुरुपयोग भएको बताएका छन् ।

‘राष्ट्रपति व्यक्ति होइन संस्था हो । पार्टी विवादमा राष्ट्रपति संलग्न हुनु/गराउनु आफ्नो जिम्मेवारीको दुरुपयोग गर्नु हो,’ उनले ट्विट गर्दै लेखेका छन्, ‘ राष्ट्रपति पार्टी विवादमा संग्लन हुनु संविधान र संस्थाको मर्यादाको खिलाफमा हो । गणतन्त्रकै अवमूल्यन हो । राष्ट्रपति ज्यू, राष्ट्रपति संस्था पार्टीभन्दा धेरै उच्च हो भन्ने सम्झाइरहनु नपर्ला ।’

कमेन्ट गर्नुहोस्