नेपालीको प्रतिव्यक्ति आय बढ्यो, नेपाल पहिलोपटक निम्नमध्यम आय भएको मुलुककाे सूचीमा

काठमाडौंः नेपालीको प्रतिव्यक्ति आय बढेको छ । विश्व बैंकले बिहीबार सार्वजनिक गरेको पछिल्लो विवरणमा नेपालीहरूको प्रतिव्यक्ति आय गत वर्षको तुलनामा १३० डलरले वृद्धि भएको छ ।

सन् २०१९ मा नेपालीहरूको प्रतिव्यक्ति आय ९६० अमेरिकी डलर थियो । सन् २०२० को जुलाई १ सम्म नेपालीहरूको प्रतिव्यक्ति आय एक हजार ९० अमेरिकी डलर पुगेको विश्व बैंकले जनाएको छ ।

याे पनि पढ्नुस  त्रिकोणात्मक सिरिजः उद्घाटन खेलमा नेपालले ओमनसँग खेल्ने

योसँगै नेपाल न्यून आय भएको मुलुकबाट इतिहासमै पहिलोपटक निम्नमध्यम आय भएको मुलुकमा उक्लिएको छ ।

नेपालमा विगत तीन आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर (आर्थिक वृद्धि) क्रमशः ८ दशमलव २, ६ दशमलव ७ र ७ प्रतिशत हासिल भएपछि प्रतिव्यक्ति आम्दानी पनि सोही अनुपातमा बढेको छ । मुलुकको कुल राष्ट्रिय आयलाई जनसंख्याले भाग गर्दा आउने अंक नै प्रतिव्यक्ति आय (प्रतिव्यक्ति कुल राष्ट्रिय आय) हो ।

याे पनि पढ्नुस  भारतले भन्यो– नेपालको नयाँ नक्सा स्वीकार गर्न सकिन्न

नेपाललाई सन् २०३० भित्र मध्यम आय भएको देशमा उकाल्ने सरकारको लक्ष्य छ ।

दक्षिण एशियाली मुलुकहरूमध्ये सबैभन्दा उच्च प्रतिव्यक्ति आय भएको मुलुक माल्दिभ्स हो । सन् २०१९ मा माल्दिभ्सको प्रतिव्यक्ति आम्दानी ९ हजार ६ सय ५० अमेरिकी डलर छ ।

विश्वबैंकले उच्च, उच्चमध्यम, निम्नमध्यम र निम्न गरी संसारभरिका मुलुकलाई चार आय वर्गमा वर्गीकरण गर्दै आएको छ । विश्वका २९ मुलुक न्यून आयवर्गमा रहेको विश्व बैंकले जनाएको छ । त्यस्तै, नेपालसहित ५० मुलुक निम्नमध्यम वर्ग, ५६ मुलुक उच्च मध्यम वर्ग र ८३ मुलुकहरू उच्च आयवर्गमा पर्छन ।

कमेन्ट गर्नुहोस्