कैलालीको भजनी र जोशीपुर डुबानमा

कैलाली : कान्द्रा र काढा नदीमा पानीको बहाव बढेपछि कैलालीको भजनी र जोशीपुर डुबानमा परेको छ ।

काढामा पानीको बहाव बढेपछि गाउँ पस्दा भजनी र जोशीपुर डुबान र कटान हुन थालेको स्थानीयवासी गङ्गा चौधरीले जानकारी दिइन् ।

भजनी नगरपालिका २, ३, ६ र ८ नं वडाका सयौँ घर डुबानमा परेको बताइएको छ । ‘काढा नदीमा पानीको बहाव बढेपछि पानी बस्तीमा पसेको हो,’ चौधरी भन्छिन्, ‘कान्द्रा नदी बढ्न थालेको छ । नदीमा पानीको बहाव बढ्दै गए यहाँ थप जोखिम बढ्नेछ ।’

भजनी र जोशीपुरका सयौँ घरमा पानी पसेको छ । भजनीका छ परिवार विस्थापित भएर आफन्तकहाँ बसेको चौधरीले बताइन् ।

याे पनि पढ्नुस  मास्कमा कालोबजारी गर्ने हिमाल फार्मेसीलाई २ लाख जरिवाना

भजनीको वडा नं २ स्थित मोहनपुरमा नदीले सयौँ बिघा धानखेती पटानी गरेको छ । भर्खरै धान रोपेको सयौँ बिघा पटानी गरेपछि किसान दुःखी भएका छन् । कान्द्रा नदी गाउँ फर्किएपछि चौधरीको एक बिघा धानखेती पटानी भएको छ । चौधरीसँगै मोहनपुरका ६५ किसानको खेत बालुवाले पुरेको छ । भजनीकै दुःखराम चौधरीले पालेका माछा बगेका बताए । ‘पाँच हजार माछा हालेको थिएँ, सबै बगायो,’ दुःखरामले भने, ‘एक किलो तौल पुगिसकेका थिए । मलाई लाखौँ घाटा भयो ।’

याे पनि पढ्नुस  अबिरल बर्षाका कारण वीरगंज डुबानमा, ठोरीमा यातायात अवरुद्ध

बिहीबार रातिको वर्षापछि काढा नदीको पानी गाउँ पसेपछि जोशीपुर १ राजीपुरमा २५ घर डुबानमा परेका छन् । घरमा पानी पसेपछि घरमा रहेका अन्नपात र लत्ताकपडा भिजेर नष्ट भएका स्थानीयवासी शेरबहादुर साउदले जानकारी दिए ।

भजनी र जोशीपुर डुबानमा परेपछि स्थानीय पालिकाले बाढीको जोखिम बढेमा नागरिकलाई राहत तथा उद्धारका लागि कहाँ राख्ने भन्ने तयारी थालेका छन् । भजनीले जोखिमबाट बच्न पूर्वतयारीस्वरुप उद्धार टोली र उच्च घरलाई तयारी अवस्थामा राखेको १ नं वडाध्यक्ष विधिराम चौधरीले बताए । यहाँ वर्षेनी बाढी र कटान हुन्छ । यहाँका नागरिक हरेक वर्ष बाढीको त्रासमा हुन्छन् ।

याे पनि पढ्नुस  हसिया प्रहार गरी बुवाको हत्या, आमाको अवस्था गम्भीर

बाढी आउने भएपछि यहाँका धेरै किसान चैते धानखेती गर्छन् । जोशीपुरका खगेन्द्र साउँदले वर्षेनी डुबानको समस्या झेल्दै आए पनि सरकारले दीर्घकालीन डुबानको समस्या समाधान गर्न पहल नगरेको गुनासो गरे । ‘वर्षात् हुन थाले हामी रातभरि सुत्न सक्दैनौँ,’ साउँदले भने, ‘अन्नपात सबै भिजेर नष्ट भएको छ । अझै वर्षा हुने देखिएको छ । हामी सुरक्षित स्थानको खोजीमा छौँ ।’ रासस

कमेन्ट गर्नुहोस्