ओली निकट नेताहरु भन्छन्– ‘साथ दिन बाध्य छौं, तर डुबिने भइयो’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले अवस्था र परिस्थिति विपरित हिंडन थालेपछि उनी निकट नेताहरुमा समेत चिन्ता थपिएको छ ।
प्रधानमन्त्रीलाई घेराबन्दी गरिएपनि त्यसको प्रतिवादस्वरुप उनल चालेको कदमले भविष्यमा ठूलो दुर्घटना निम्त्याउने उनीहरुको ठम्याई छ ।

“स्थायी समितिमा लगाइएका सबै आरोप सही नभएपनि प्रधानमन्त्रीको कदम भने घातक छ ।” ओली निकट एकजना स्थायी समिति सदस्यले भने, “हामीले साथ त दिनैपर्छ तर यो डुबिने बाटो हो ।”

ओलीले समय, काल र परिस्थिति नेहरी लहडमा बोल्ने बानीका कारण अनावश्यक झण्झट थपिएको उनको बुझाई छ । “एमसिसीका पक्षमा उनले अडान राख्नुलाई सामान्य बुझ्न सकिन्थ्यो । यही विषयमा स्थायी समितिमा छलफल चलि नै रहेको थियो ।” उनले भने, “तर एकाएक भारतको प्रसङ्ग झिकेर अनावश्यक टाउको दुखाउने काम गर्नुभयो । अब आएर पार्टी फुटोस तर सहमतिमा जान्न भन्दै हुनुहुन्छ ।”

ओलीलाई भरपर्दो साथ दिएका ती स्थायी समिति सदस्यका अनुसार, व्यक्तिगतरुपमा ओलीलाई पदको लोभ नभएपनि उनीभित्र जन्मिने इगो समस्या बनेको हो । लामो समयदेखि साथ दिएको अवस्थामा पार्टी फूट भएपछि मन मारेरै भएपनि ओलीको साथ दिनुपर्ने स्थितिमा रहेको उनको चिन्ता देखिन्थ्यो ।

याे पनि पढ्नुस  जब प्रचण्डले मिथिला मध्यपरिक्रमाको डोला बोके...

पार्टीमा विधि र पद्दती हुने तथा कमिटिगत छलफलमा आउने आलोचनालाई बहस र छलफलबाट टुंग्याउन सकिने भएपनि फरक विचारलाई निषेध गर्ने ओलीको प्रवृत्ति पछिल्लो दिनमा झन बढेर गएको उनको बुझाई छ । यसअघि पनि कतिपय विषयमा अडान राख्दै आएपनि अहिले पार्टी फूटकै शर्तमा ओलीले लिएको अडान भने गलत भएको उनले बताए ।

उनीमात्रै होइन, ओली निकट अधिकांश स्थायी समिति सदस्यहरुको चिन्ता समान छ । ओली निकट स्थायी समिति सदस्यहरुलाई यसै साता प्रचण्डले समेत खुमलटार बोलाएर सबै परिस्थितिबारे अवगत गराएका थिए ।

“मैले त्याग र सहमतिका लागि पहल नगरेको होइन ।” प्रचण्डको भनाई थियो, “तर ओलीजी पुरै स्वेच्छारी र निरंकुश बन्नु भएको छ । पार्टी फुटे फुटोस तर पार्टीको निर्णय मान्दिन भन्नेमा पुग्नु भएको देखिन्छ । तपाईहरु नै सम्झाउनुस् ।”

खुमलटारबाट फर्केका नेताहरुले ओलीसँग परामर्श नगरेका होइनन, तर ओलीले भने कसैको कुरा टेरेनन् । उल्टै उनले त्यही दिन संसद स्थगन गर्ने निर्णय मन्त्रीपरिषदबाट गराए ।

याे पनि पढ्नुस  बालुवाटारमा नेकपाको निणार्यक वार्ता सुरू, टोलीमा पोखरेल र पुन थपिए

“वहाँको यो रवैयाबाट हामी पनि संकटमा परेका छौं ।” ती स्थायी समिति सदस्यले भने ।

ओलीको कदमले पार्टी फुटन सक्छ भनेर सम्झाउँदा पनि उनको हठ बढ्दैगएपछि ओली निकट स्थायी समिति सदस्यहरु समेत अहिले पार्टी एकताका पक्षमा उभिएका छन् । शुक्रबार मात्रै ओली निकट प्रदीप ज्ञवाली, शंकर पोखरेल, विष्णु पौडेल लगायतका नेताहरुले पार्टीभित्र विवाद नगरी एकताको सन्देश दिन सामूहिक अपील नै जारी गरेका थिए । माधव पक्षका घनश्याम भुसाल, योगेश भट्टराईले यसअघि नै एकताका पक्षमा लाग्न अपील गरिसकेका थिए ।

राजनीतिक रुपमा ओली समूहमा भएपनि प्रचण्डको कदम एकता र पार्टीलाई थप सुदृढ पार्ने भएकोमा यी नेताहरुको समान बुझाई देखिन्छ ।

“अहिले पार्टीमा देखिएको विवाद विचारको होइन, शीर्ष नेतृत्वबीच कार्यशैलीले निम्त्याएको समस्या हो ।” शुक्रबार भेलामा सहभागी ओली निकट एक स्थायी समिति सदस्यको भनाई थियो, “सामान्य कुरा पनि अतिरञ्जित हुँदै गएपनि यो व्यक्तिगत अहम् र टकरावको अवस्थामा पुगेको हो । यसबाट पार्टी फुटने वातावरण सिर्जना हुन सक्छ । त्यसैले हामीले सामूहिकरुपमा एकताका पक्षमा अपील गरेका हौं ।”

याे पनि पढ्नुस  माडीलाई मणि बनाउने प्रयासमा छौंः अध्यक्ष प्रचण्ड

ओली समूहमा वैचारिक रुपमा बहस र छलफल गर्न रुचाउने जमात ठूलो भएपनि त्यसको प्रभाव भने न्यून हुँदै गएको ती नेताको ठहर छ । उनले भने, “अहिले बाहुबलले जित्न सकिन्छ भन्ने प्रवृत्ति हामीभित्र विकास भएको छ । सडकमा मानिसहरु निकाल्नु ठीक होइन भनेर समेत हामीले भनेका हौं । तर केही साथीहरु गैर राजनीतिकरुपमा प्रतिवाद गर्न खोजिरहेका छन् ।”

ओलीले राजिनामा नदिने अडान लिएपछि एकाएक देशैभरी ओली समर्थकहरुले जुलुस निकालेको घटनाप्रति उनले लक्षित गर्दै यसो भनेका थिए ।

आज स्थायी समिति बैठकमा ओली पक्षका नेताहरुले पार्टी एकताका पक्षमा ओलीलाई दबाब दिने रणनीति बनाएका छन् । पार्टी एकता चानचुने परिघटना नभएको र विभाजन हुने अवस्थामा कुनै अमुक व्यक्तिको जीत भएपनि यो कम्युनिष्ट आन्दोलनका लागि ठूलो क्षति हुने उनीहरुको बुझाई छ ।

“हामीले वहाँलाई साथ छोड्न सक्ने अवस्था त छैन, तर एकताका पक्षमा दबाब दिने हाम्रो भूमिका रहनेछ ।” ती नेताले भने, “प्रचण्ड माधव कमरेडहरु पनि अलि लचिलो भए आज सकारात्मक सन्देश दिन सकिएला कि ?”

कमेन्ट गर्नुहोस्