घर गएका २९ जनामा कोरोना देखियो, जोखिम बढेको भन्दै गाउँपालिकामा प्रदर्शन

अछामः क्वारेन्टाइनबाट घर गएका २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बान्नीगढी जयगढ गाउँपालिकाका २९ जनामा घर गएपछि कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

आरडीटी पोजेटिभ देखिएपछि गाउँपालिकाका २९ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि असार ५ गते धनगढी पठाइएको थियो । तर, असार १५ गते पीसीआर रिपोर्ट नेगेटिभ आएको भन्दै उनीहरू घर गएका थिए ।

तर, स्वास्थ्य मन्त्रालयले शुक्रबार गाउँपालिकाका २९ जनामा कोरोना भाइरस पुष्टि भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको थियो । संक्रमितहरू १५ गते अघि नै घर गइसकेका थिए ।

याे पनि पढ्नुस  थप २ नेपालीमा कोरोना भाइरसको आशंका

गाउँपालिकाको लापरवाहीका कारण उनीहरू रिपोर्ट नआउँदै घर गएका हन् । गाउँपालिकका स्वास्थ्य शाखा प्रमुख बसन्त रावलले सबैको रिपोर्ट नेगेटिभ आएको भन्दै झुट बोल्दा उनीहरू क्वारेन्टाइनबाट घर गएका थिए ।

क्वारेन्टाइन बनाइएको सरस्वती उच्च मावि जयगढ ।

सबै संक्रमितहरू डेढ महिनाअघि भारतबाट घर फर्किएका थिए । कोरोना परीक्षणका लागि स्वाव संकलन भएको १४ दिनसम्म पनि रिपोर्ट नआउँदा पनि जनप्रतिनिधि र स्वास्थ्य शाखा प्रमुखले कुनै चासो दिएका थिएनन् । अन्ततः असार १५ गते सबैको रिपोर्ट नेगेटिभ आएको झुटो विवरण दिँदै घर जान भनिएको थियो ।

याे पनि पढ्नुस  चीनबाट ल्याइएका नेपालीमा कोरोनाको संक्रमण देखिएन

स्वास्थ्य शाखा प्रमुख रावलले रिपोर्ट नआउँदै क्वारेन्टाइनमा बसेकालाई घर जान निर्देशन दिएको स्वीकार गरे । उनले भने, ‘१४ दिन कुर्दा पनि रिपोर्ट आएन । कसैमा कोरोनाको लक्षण नदेखिएपछि आरडीटी पोजेटिभ देखिएकाहरूलाई पनि घर पठाएका हौं ।’

२९ जना शुक्रबार कोरोना संक्रमित भेटिए पनि गाउँपालिका भने मौन बसेको छ । गाउँ–गाउँमा कोरोना जोखिम बढ्दा पनि संक्रमितहरू कहाँ छन् भन्नेबारे गाउँपालिका बेखबर छ ।

याे पनि पढ्नुस  को हुन् कोरोनाबाट ज्यान गुमाउने नवौं व्यक्ति?

रावलले संक्रमितहरू आफैं घरमा आइसोलेसनमा बसे पनि हुने र बस्न चाहेमा क्वारेन्टाइनमा पनि राखिने बताए । उनले संक्रमितहरूबारे के गर्ने भन्नेबारे गाउँपालिकाको बैठक बसिरहेको बताए ।

रिपोर्ट नआउँदै घर पठाइँदा समुदायमा जोखिम बढेको भन्दै संक्रमित र संक्रमितका आफन्तले आज गाउँपालिकामा प्रदर्शन गरेका छन् ।

कमेन्ट गर्नुहोस्