प्रधानमन्त्रीद्वारा संकटकालको घोषणा गर्न सक्ने संकेत, पुन र भुसालले गरे प्रतिवाद

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना मन्त्रीहरूलाई कित्ता राेज्न आग्रह गरेका छन् ।

शनिवार साँझ बालुवाटारमा मन्त्रीहरूलाई बाेलाएर ओलीले आफूविरुद्ध षड्यन्त्र भएकाेले कित्ता राेज्न मन्त्रीहरुलाई आग्रह गरेका हुन ।

राष्ट्रपति र आफूविरुदध षड्यन्त्र भएकाे बताउँदै ओलीले जुनसुकै कदम पनि चाल्नुपर्ने अवस्था आएकाे संकेत गरेका थिए ।

आजकाे छलफलमा सहभागी एक मन्त्रीका अनुसार, प्रधानमन्त्रीकाे आशय संकटकाल समेत लगाउने देखिन्थ्याे ।

‘मेराविरुद्ध षड्यन्त्र भएको छ, मेराविरुद्ध र राष्ट्रपतिका विरुद्ध भएका षड्यन्त्रहरूलाई मैले बाइवर्ड, बाइस्टेप नियन्त्रण गर्नुपर्ने हुन सक्छ’ प्रधानमन्त्री ओलीले मन्त्रीहरूसँग भने, ‘यस्तोबेलामा तपाई‍ंहरू कता भनेर मैले सोध्नुपर्ने हुन सक्छ । तपाईंहरूले आफ्नो साइड रोज्नुपर्ने हुन सक्छ ।’

याे पनि पढ्नुस  अध्यादेश खारेज लगत्तै ओली, प्रचण्ड र देउवाबीच भेट, के भयो कुराकानी ?

राष्ट्रपतिविरुद्ध अविश्वास प्रस्ताव ल्याउने प्रयास भइरहेको हल्लाबाट प्रधानमन्त्री प्रभावित भएको हुन सक्ने एक मन्त्रीले आशंका गरे । उनका अनुसार त्यस्तो गलत सूचना प्रधानमन्त्रीलाई कसैले भरिदिएको हुन सक्ने उनको अभिव्यक्तिबाट झल्किन्थ्यो ।

प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रीहरूसँग छलफल गर्नुपूर्व शीतल निवासमा राष्ट्रपतिलाई भेटेका थिए ।

मन्त्री पुन र भुसालको ‘अब्जेक्सन’

प्रधानमन्त्री ओलीले राष्ट्रपति र आफूविरुद्ध षड्यन्त्र भइरहेको भन्दै मन्त्रीलाई आ-आफ्नो कित्ता स्पष्ट पार्न चेतावनीयुक्त भाषा प्रयोग गरेपछि ऊर्जामन्त्री वर्षमान पुन प्रधानमन्त्रीलाई जवाफ दिन तम्सिए ।

स्रोतका अनुसार मन्त्री पुनले प्रधानमन्त्रीलाई भने, ‘यदि त्यस्तो हुन लाग्यो भने हामीसँग सिंगो पार्टी छ, संसदीय दल छ, यस्ता संस्थाहरुमा यसबारे छलफल गर्दाखेरि तर्कपूर्ण कुराहरु आउन सक्छन् र आशंका एवं समस्याहरुको समाधान हुन सक्छ ।’

याे पनि पढ्नुस  प्रधानमन्त्री ओली भोलि अजरबैजान जाँदै

कृषिमन्त्री घनश्याम भुसालले प्रधानमन्त्री ओलीलाई दोस्रो विश्वयुद्धकालमा बेचिएका पोष्टरहरुको स्मरण गराउँदै गलत सूचनामा नबग्न आग्रह गरे ।

पहिलो विश्वयुद्धताका युरोपमा ‘…..हत्यारा हुन्, तिनका विरुद्ध लडौं, तिनलाई काटौं’ इत्यादि लेखिएका पोष्टरहरु विक्री हुने गरेको बताउँदै मन्त्री भुसालले प्रधानमन्त्रीलाई भने, ती पोष्टरहरुमा ‘…हत्यारा’ भन्दा अगाडि ‘फ्रेञ्चहरु’ ‘जर्मनहरु’ इत्यादि लेख्न सकिने गरी खाली राखिएको हुन्थ्यो । तपाईहरुका वीचमा यस्तै पोष्टर बेच्नेहरुले भयंकररुपमा सूचनाको दुरुपयोग गरेर हामीलाई बगाएका छन् र हामी बगेका छौं, प्रधानमन्त्रीज्यूले यसबारेमा सोच्नुहोला ।’

याे पनि पढ्नुस  ओली र प्रचण्डबीच बालुवाटारमा छलफल जारी

मन्त्री भुसालले अझ अगाडि बढेर प्रधानमन्त्रीलाई थपे, ‘ प्रधानमन्त्रीज्यू, तपाई शीर्षस्थ नेताहरु यस्ता गलत सूचनाले बहकिएका यथेष्ट प्रमाणहरु मसँग छन् ।’

पुन र भुसाल लगायत केही मन्त्रीहरुका कुरा सुनिसकेपछि प्रधानमन्त्री ओलीले ल अब आजको छलफल यति नै, भन्दै छलफल सकिएको जनाऊ दिएका थिए ।

प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरुलाई बालुवाटारमा बोलाएता पनि यसलाई मन्त्रिपरिषद बैठक नभएर अनौपचारिक छलफलको रुपमात्रै दिइएको थियो ।

कमेन्ट गर्नुहोस्