राखेपको कार्यवाहक सदस्य-सचिवमा ढकाल

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यवाहक सदस्य सचिवमा भक्तबहादुर ढकाललाई नियुक्त गरिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयले आज ढकाललाई कार्यवाहकको जिम्मेवारी दिएको हो । मन्त्रालयको खेलकूद विभाग महाशाखाका प्रमुख रहेका ढकाललाई आइतबारको मन्त्रीस्तरीय निर्णयानुसार सदस्य-सचिवको जिम्मेवारी दिइएको हो ।

याे पनि पढ्नुस  प्रधानमन्त्री कपमा सहभागी खेलाडीलाई बाउन्स चेक

राष्ट्रिय खेलकूद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (१२) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि राखेपको सदस्य-सचिवले गर्ने कार्य गर्ने गरी ढकाललाई जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।

नयाँ खेलकूद विकास ऐन बिहीबारदेखि लागू भएको थियो । खेलकूद विकास ऐन, २०४८ निष्कृय भएसँगै राखेपमा सदस्य-सचिव रमेशकुमार सिलवाल, राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनालगायत बोर्ड सदस्यको कार्यकाल समाप्त भएको थियो ।

याे पनि पढ्नुस  राखेपका पूर्वसदस्य सचिव सिंहको निधन

नयाँ ऐनमा सदस्य-सचिव नियुक्तिका लागि मन्त्रालयले तीन सदस्यीय सिफारिस समिति गठन गर्ने व्यवस्था गरिएको छ ।

समितिले योग्यता पुगेका व्यक्तिबाट सदस्य-सचिवका लागि एक महिलासहित तीन जनाको नाम मन्त्रालयलाई सिफारिस गर्ने प्रावधान छ ।

समितिबाट प्रस्तावित नाम मन्त्रालयले नियुक्तिका लागि मन्त्रिपरिषद्समक्ष पेश गर्नेछ । मन्त्रिपरिषद्ले उपयुक्त ठानेको व्यक्तिलाई ४ वर्षका लागि सदस्य-सचिवमा नियुक्त गर्ने नयाँ खेलकुद ऐनमा व्यवस्था गरिएको छ ।

कमेन्ट गर्नुहोस्