विश्वविद्यालयलाई परीक्षा लिन बाटो खुल्यो, निर्देशिकामा के छ ?

काठमाडौंः स्थगित परीक्षा सञ्चालन गर्न विश्वविद्यालयहरूलाई वैकल्पिक बाटो खुलेको छ । उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण प्रारूप–२०७७ स्वीकृत गरी विश्वविद्यालय अनुदान आयोगले यसको निर्देशिकासमेत जारी गरेपछि विश्वविद्यालयललाई अब नीतिगत निर्णय लिन बाटो खुलेको हो ।

कोरोना भाइरसले लामो समयदेखि विश्वविद्यालयको पठनपाठन, अनुसन्धान, परीक्षा र मूल्याङ्कनका लागि उत्पन्न अवरोध हटाउन यस खालको निर्देशिका जारी गरिएको विश्वविद्यालय अनुदान आयोगले जनाएको छ । कोरोना भाइरसका कारण गरिएको बन्दाबन्दीपछि सबै विश्वविद्यालयका परीक्षालगायतका शैक्षिक कार्यक्रमको क्यालेन्डरमा अवरोध आएको छ ।

याे पनि पढ्नुस  संक्रमित बढेपछि कलंकीमा कडाइ, पसल बन्द गरियो

आयोगका अध्यक्ष प्रा. भीमप्रसाद सुवेदीले विश्वविद्यालयहरूको परीक्षा र त्यसको मूल्याङ्कनमा सहज होस् भनेर नै विश्वविद्यालयहरूलाई सहजीकरण गरिएको बताए । निर्देशिकाअनुसार अब विश्वविद्यालयहरूले सेमेस्टर प्रणालीमा अध्ययन गर्ने विद्यार्थीलाई भर्चुअल विधिबाट परीक्षा लिन सक्नेछन् भने कुनै कारणवश परीक्षा लिन नसकिएको अवस्थामा आन्तरिक मूल्याङ्कनका आधारमा माथिल्लो सेमेस्टर कक्षामा पठाउन सकिने छ ।

कुनै विषयको प्रयोगात्मक परीक्षा लिन नसकिएको अवस्थामा पनि अर्को सेमेस्टरमा लिन सकिने गरी अगाडि बढ्न सक्ने सुवेदीले बताए । धेरै विद्यार्थी अध्ययन गर्ने विश्वविद्यालय तथा विषयको हकमा भने आफूहरूले विभिन्न विकल्प प्रस्तुत गरेको जानकारी उनले दिए । सोअनुसार सम्भव भए सामाजिक दूरी कायम गरेर परीक्षा लिन पनि विश्वविद्यालयहरूले सक्नेछन् । परीक्षा लिन सम्भव नभएको अवस्थामा परीक्षाको मोडल तथा प्रश्नपत्रको प्रकृति परिवर्तन गरेर पनि परीक्षा लिन सकिने व्यवस्था गरिएको छ ।

याे पनि पढ्नुस  उदयपुरमा थप ८ जनामा कोरोना देखियो, उपचारका लागि विराटनगर पठाइयो

‘विद्यार्थीलाई अब घरमै लेखेर ल्याउनुस् भनेर पनि परीक्षा लिनुपर्ने हुन सक्छ तर यसका लागि प्रश्न सोध्ने विगतको प्रवृत्तिमा परिवर्तन गर्नुपर्छ’, आयोगका अध्यक्ष सुवेदीले भने । विगत जस्तो तीन घण्टा बन्द कोठामा बसेर विद्यार्थीसँग परीक्षा लिन सक्ने अवस्था नभएका कारण पनि परीक्षा लिने नयाँ विकल्प खोजिएको उनको भनाइ छ । उनका अनुसार सम्भव भएको अवस्थामा विश्वविद्यालयको अवस्था हेरी क्षेत्रगत रूपमा परीक्षा लिन सकिने बाटो समेत खोलिएको छ ।

याे पनि पढ्नुस  कोरोनाको संक्रमण रोक्न श्रीलंकाको दुई ठाउँमा कर्फ्यू

विश्वविद्यालयहरूले अब अनुुदान आयोगको निर्देशिका परिधिभित्र रहेर परीक्षा सञ्चालन तथा विद्यार्थीको मूल्याङ्कन गर्ने उनको भनाइ छ । साथै विश्वविद्यालयमा विद्यार्थीको सङ्ख्या तथा तह हेरेर निर्णय गर्न सक्ने अध्यक्ष सुवेदी बताउँछन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

कमेन्ट गर्नुहोस्