पत्रकार निष्काशन गर्ने मिडिया मालिकविरुद्ध पत्रकार महासंघ आन्दोलित

काठमाडौं : श्रमजीवी पत्रकारलाई कोरोना महामारी र त्यसले निम्त्याएको आर्थिक संकटको कारण देखाउँदै विभिन्न सञ्चार गृहहरूले कामबाट निकाल्ने, बेतलबी बिदामा बस्न लगाउने, पारिश्रमिक नदिने, मानसिक तनाव बढाउने खालको अमान्य गतिविधि बढाएकोप्रति विरोध गर्दै पत्रकार आन्दोलित भएका छन ।

श्रमजीवी पत्रकार ऐन, न्यूनतम पारिश्रमिक कार्यान्वयन सम्बन्धी कानुन, अन्तर्राष्ट्रिय श्रम कानुन तथा पत्रकार हक, हित तथा अधिकार सम्बन्धी तमाम कानुनी व्यवस्थाको मर्मविरुद्ध मिडिया मालिकहरूले गरिरहेको गतिविधिको विरोधमा पत्रकार आन्दोलनमा उत्रिएका हुन् ।

कोरोना संकटले विश्व मानव समूदायलाई नै प्रभाव पारेको अवस्थामा मुलुकको नामि र आर्थिकरूपमा समेत सक्षम देखिने मिडिया हाउने नै श्रमजीवी कामदारलाई हटाउने हर्कत पत्रकारको काम गरेर बाँच्न पाउने अधिकारका विरुद्ध रहेको भन्दै पत्रकारले त्यस्ता मिडिया मालिकलाई आन्दोलनको माध्यमबाट तह लगाउने बताए ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना तथा प्रेस संगठन नेपाल, नेपाल प्रेस युनियन, क्रान्तिकारी पत्रकार संगठन नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, प्रेस सेन्टर नेपाल, प्रगतिशिल पत्रकार संघ, जनपत्रकार संगठन लगायतका विभिन्न संघ संगठनहरुको ऐेक्यबद्धतामा अघि बढेको आन्दोलन समस्याको हल नहुँदासम्म निरन्तर अघि बढ्ने महासंघले बताएको छ ।

गत शुक्रबार दिउँसो काठमाडौंको बबरमहलमा विरोध प्रदर्शन गर्दै मिडिया मालिकलाई श्रमजीवी पत्रकारलाई अपमानजनक ढंगले कामबाट निकाल्ने काम बन्द गर्न माग गर्दै त्यसप्रति राज्यलाई समेत सचेत गराइएकोमा मिडिया मालिकले मागको सुनुवाई नगरेकाले आजबाट पुनः आन्दोलन अघि बढाइएको हो ।

याे पनि पढ्नुस  पत्रकार महासंघले आन्दोलन गर्ने

मिडिया हाउससँग श्रमजीवी पत्रकारको हक, हित र अधिकारको ग्यारेन्टी गर भन्दै महासंघको टिमले गरेको छलफलको पहिचो चरणको प्रयासबाट समाधानको संकेत नदेखिएको कारण आज पुर्न पत्रकार मिडियामा हाउसको गेटमै पुगेर कालो ब्यानर टासेर माग कार्यान्वयनको लागि चेतावनी दिएका छन ।

श्रमजीवी पत्रकारको पक्षमा लामो समयदेखि संघर्षको नेतृत्व गर्दै आएका पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीको नेतृत्वमा विभिन्न पत्रकार संघ संगठनको ऐक्यवद्धतासहित नागरिक दैनिक, एपि १ टेलिभिजन लगायतका मिडियाहरुको गेटमा मागपुरा नगरेमा कडा आन्दोलनमा उत्रिने चेतावनी सहित कालो ब्यान टाँसिएको छ ।

‘श्रमजीवी पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वयन गर । पेशागत सुरक्षाको ग्यारेण्टी गर ।’ लेखिएको कालो ब्यानरमा आयोजना गरिएको उक्त विरोध कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघकाे श्रमजीवी हित प्रवर्द्धन समिति सह-संयाेजकसमेत रहेका जैसीले कुनै पनि हालतमा श्रमजीवी पत्रकारलाई काममा फकाउँने र स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण गराउन राज्य र सम्बन्धीत पक्षलाई चेतावनी दिए ।

याे पनि पढ्नुस  पत्रकार महासंघले आन्दोलन गर्ने

उनले कोरोनाको कारण देखाउँदै पत्रकार तथा सञ्चारमाध्यममा काम गर्ने कामदारलाई मनमर्जि निकाल्ने हर्कत महासंघलाई अमान्य हुने र त्यसका विरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिने बताए । उनले समयमै पत्रकारहरुका जायज मागको सम्बोधन नभएमा महासंघ मिडिया हाउसले कल्पना नगेको ढंगको आन्दोलन अघि बढाउने भन्दै उनले कडा चेतावनी दिएका थिए ।

उक्त कार्यक्रममा बोल्दै क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले महासंघको विरोध कार्यक्रममा आफ्नो संगठनको एक्यवद्धता जाहेर गर्दै श्रमजीवी पत्रकारको पेशागत सुरक्षाको लागि राज्यले समेत जिम्मेवार बन्नुपर्ने धारणा राखे ।

अध्यक्ष राउतले महासंघको आन्दोलनमा पेशागत संघ, संगठनहरुलार्य पनि जोड्दै माग पूरा गराउन व्यापक दवावमूलक कार्यक्रम गर्नु पर्नेमा जोड दिएका थिए ।

उक्त कार्यक्रममा क्रान्तिकरी पत्रकार संगठनका नेता कमल बुढाले मिडिया हाउसले सृजना गरेको श्रमजीवी पत्रकारको समस्यालाई तत्काल हल गर्न स्वयम मिडिया मालिक तयार हुनुपर्ने र त्यसो नभएमा आन्दोलनको स्वरुप बदलिने भन्दै कडा चेतावनी दिएका थिए ।

उनले पत्रकार महासंघको विरोध कार्यक्रममा आफ्नो संगठनको तर्फबाट एक्यवद्धता जाहेर गर्दै पत्रकारहरुलाई बिनासर्त काममा फर्कने वातावरण नबन्दासम्म चरणबद्ध आन्दोलनको घोषणा गरेर अघि बढ्नुपर्ने विचारसमेत राखे ।

प्रेस सेन्टर नेपालका अध्यक्ष लाेकराज जैसीले मिडिया मालिकहरुले आफुलाई आवश्यक पर्दै विभिन्न सेवा, सुविधा सहितको नियुक्ति पत्र दिएर पत्रकारलाई भित्र्याउने र मन नलागेमा आफैले दिएको नियुक्तिपत्रको अपमान गरेर पत्रकारहरुलाई हटाउने काम गैह्र जिम्मेवार तथा अमान्य रहेको भन्दै त्यस्ता मिडिया मालिकलाई कारबाही गर्नुपर्ने तर्क गरे ।

याे पनि पढ्नुस  पत्रकार महासंघले आन्दोलन गर्ने

अध्यक्ष जैसीले श्रमजीवी पत्रकार ऐन, न्यूनतम पारिश्रमिक समितिको निर्णय, अन्तराष्ट्रि श्रम संगठन, श्रम कानुन र राज्यका अन्य कानुनहरुको खिलाफमा मुलुककै ठूला भनिएका मिडिया हाउसहरु उभिनुले कानुनी राज्यको समेत अपमान गरेको छ ।

कार्यक्रममा पत्रकार महासंघ काठमाडौंका अध्यक्ष शान्तराम बिडारीले मिडिया मालिकको प्रेस कानुन विरुद्धको रबैया कुनै पनि हालतमा स्विकार्य नहुने भन्दै त्यसका विरुद्ध संगठित र कडा आन्दोलनमा जानुपर्ने धारणा राखेका थिए ।

त्यसैगरी महासंघको उपत्यका प्रदेश समितिका कोषाध्यक्ष टेनिस रोकाले श्रमजीवी पत्रकारको पेटमा लात हान्ने ढंगले मिडिया मालिकहरू जसरी आफ्नो नियत उजागर गर्दैछन् त्यसले श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनमा उनीहरूको वास्तविक प्रतिवद्धता देखिएको बताए ।

कार्यक्रममा कान्तिपुर दैनिक मिडियामा कार्यरत पत्रकारद्धारा गठित संघर्ष समितिका सदस्य श्रीराम वाग्लेले समेत आफ्नो कुरा राख्दै पत्रकारमाथि गरिएको अपमानजनक व्यवहार तुरुन्त सच्याउन खबदारी गरे ।

कमेन्ट गर्नुहोस्