प्रधानमन्त्री ओलीले भने, ‘पार्टीको विवाद नियमित प्रक्रिया र आन्तरिक कुरा हो’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्र देखिएको विवाद आन्तरिक भएको बताएका छन् ।

आज साँझ देशबासीका नाममा सम्बोधन गर्दै उनले नेकपामा अहिले उठेका विषय नियमित प्रक्रिया भएकाले पार्टीले सुल्झाउने बताएका ।

‘अहिले कतिपय राजनीतिक विषय र सन्दर्भहरूप्रति जनताको ध्यान अवश्य तानिएको हुनुपर्दछ । त्यस किसिमको चासो र जिज्ञासा हुनु स्वभाविकै हो,’ सम्बोधनमा प्रधानमन्त्री ओलीले भने, ‘महामारी र प्राकृतिक विपत्तीको समयमा पनि राजनीतिक बहस किन भन्ने प्रश्नहरू पनि उठ्नु अन्यथा होइन । जुनसुकै राजनीतिक दलभित्र हुने बहस र विवाद आन्तरिक हुन् ।’

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीद्वारा बाकु अतेस्गाहको अवलोकन

यसलाई निष्कर्षमा पुर्‍याउने दायित्व सम्बन्धित राजनीतिक दल र नेताहरूकै भएको उनको ठहर छ । ‘पार्टीभित्र हुने यस्ता छलफल, बहस र विमतिहरू तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया पनि हुन् । यस्ता विषयहरू सम्बन्धित दल र तिनका नेताहरूले आपसी छलफलबाटै सुल्झाउने छन् । यसका लागि धैर्यता र संयम आवश्यक हुन्छ,’ उनले भने ।

याे पनि पढ्नुस  प्रचण्ड भन्छन्, ‘नेकपा देशको समृद्धिमा सम्पूर्णरुपले समर्पित पार्टी हो’

अहिले चर्चामा रहेका राजनीतिक परिदृश्यका कारण कतिपयमा राजनीतिक स्थिरता, स्थायित्व र स्थापित प्रणालीप्रति चिन्ता र संवेदनशीलता बढेको पनि हुनसक्ने औंल्याएका छन् । उनले भनेका छन्, ‘म आश्वस्त पार्न चाहन्छु, आम नेपालीहरूका बीच आपसी एकता बढाउन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान उँचो बनाउन, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न मेरो तर्फबाट दृढ अडान र हदैसम्मको प्रयास हुनेछ ।’

कमेन्ट गर्नुहोस्