बाढीपहिरो अपडेट : देशभर आज २३ को मृत्यु, ३४ जना बेपत्ता

काठमाडौं : भारी वर्षासँगै आएको बाढी, पहिरोमा परेर आज मुलुकभर २३ जनाको मृत्यु भएको छ । अरू ३४ जना बेपत्ता भएका छन् ।

कतिपय ठाउँमा उद्धार टोली जान नसकेको र कतिपय स्थानमा उद्धारको क्रम जारी रहेकाले अझै यकिन विवरण आइनसकेको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

सबैभन्दा बढी मानवीय क्षति म्याग्दीमा भएको छ । म्याग्दी, जाजरकोटमा उद्धार टोलीसमेत पुग्न नसकेकाले गाउँकै सानो उद्धार टोलीले काम गरिरहेको छ ।

याे पनि पढ्नुस  बिहीबारदेखि बाढीपहिरोको जोखिम, सतर्कता अपनाउन मौसमविद्को आग्रह

हेलिकोप्टर जाने तयारी गरिए पनि खराब मौसमका कारण जान नसकेको केन्द्रका प्रमुख मुरारी वस्तीले जानकारी दिए ।

स्थानीय तह, रेडक्रम, स्थानीय प्रशासनलगायतको समन्वयमा राहत तथा अन्य व्यवस्थापनको काम जारी रहेको जनाइएको छ ।

प्राप्त विवरणानुसार म्याग्दीको धवलागिरी गाउँपालिकालगायत विभिन्न स्थानमा गएको पहिरोमा परेर तीन जनाको मृत्यु भएको र अन्य २९ जना वेपत्ता रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीले राससलाई जानकारी दिए । प्रहरी टोलीले सो क्षेत्रमा उद्धार कार्य जारी राखेकोसमेत उनले बताए ।

याे पनि पढ्नुस  भोटेकोशी बाढीपहिरो पीडित ७३ घरपरिवारलाई राहत

जाजरकोटको चारेकोट गाउँपालिका-४ जिरीमा पहिरो जाँदा ७ को मृत्यु भएको छ भने अन्य ५ जना बेपत्ता छन् । कास्कीको सराङ्कोट, हेम्जा र पैतेडाँडामा पहिरो जाँदा ७ जनाको मृत्यु भएको छ भने १७ जना घाइते छन् ।

लम्जुङको बेँसीशहर नगरपालिका-७ स्थित सातबिसेमा विपद्मा परेर तीन जनाको मृत्यु भएको छ । गुल्मी र रुकुममा पनि विपद्बाट ३ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।

याे पनि पढ्नुस  वर्षाका कारण ७ राष्ट्रिय राजमार्गमा असर, ४ राजमार्ग ठप्प

यसअघि बिहीबार सिन्धुपाल्चोकको बाह्रबिसेलगायत क्षेत्रमा ठूलो भेलपहिरो खस्दा २ जनाको मृत्यु भएको र अन्य २० जना अझै बेपत्ता रहेको केन्द्रले जनाएको छ ।

कमेन्ट गर्नुहोस्