काठमाडौं उपत्यकामा ३३७ संक्रमित, कहाँ–कहाँ छन् (सूचीसहित)

काठमाडौंः काठमाडौं उपत्यकामा संक्रमितको संख्या ३३७ पुगेको छ । जसमध्ये काठमाडौंका २२४, ललितपुरमा ६९ र भक्तपुरका ४४ जना रहेका छन् ।

कोरोनाबाट ललितपुरका दुईजना र काठमाडौंका एकजनाको मृत्यु भइसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ३५, भक्तपुरका ८ र ललितपुरका २ जना डिस्चार्ज भएका छन् ।

काठमाडौं उपत्यकामा सोमबार ५४ जना, मंगलबार २८ जना, बुधबार २३ जना, बिहीबार ५ जना र शुक्रबार ४२ जनामा कोरोना पोजिटिभ देखिएको छ । उपत्यकाका ७१ ठाउँमा संक्रमित भेटिएका छन् ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. बासुदेव पाण्डेले केही सातायता काठमाडौंमा संक्रमणको धेरै केस देखिएको बताए । कोरोना प्रभावित मुलुकबाट उद्धारका क्रममा स्वदेश फर्किएका व्यक्तिका कारण संक्रमितको संख्या बढेको डा. पाण्डेले बताए ।

याे पनि पढ्नुस  कोरोनाका कारण नेपालमा पहिलो व्यक्तिको मृत्यु

काठमाडौं उपत्यका कोरोनाको हटस्पट हुने खतरा बढ्दै भएको छ । पछिल्ला केही दिनयता काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ र दैनिक संक्रमितहरू थपिँदैछन् । कतै नगएका व्यक्तिमा समेत संक्रमण बढ्न थालेकाले स्वास्थ्य सतर्कता नअपनाए ‘ठूलो जोखिमको सामना गर्नुपर्ने’ चेतावनी विज्ञहरूले दिएका छन् ।

लकडाउन खुकुलो भएसँगै उपत्यकामा संक्रमितको संख्या ह्वात्तै बढेको छ । लकडाउन खुकुलो भए पनि सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न योजना बनाउन सकेको छैन ।

याे पनि पढ्नुस  आजको मौसमः कुन स्थानको तापक्रम कति?

राजधानीमा बसोबास गर्ने अधिकांश मानिसहरुमा उपत्यकामा बाहिरबाट आएका मानिसमा मात्रै कोरोनाको संक्रमण छ र आफू सुरक्षित छौं भन्ने भ्रम छ । त्यसले गर्दा पनि यहाँ छिटो संक्रमण फैलिनसक्ने जोखिम छ ।

शुरूमा केही व्यक्तिमा कोरोना संक्रमण देखिए पनिपछि काठमाडौं संक्रमणमुक्त भएको थियो । त्यसपछि लकडाउन खुकुलो बनाइँदा संक्रमण फेरि बढेको हो । त्यसैले काठमाडौं उपत्यकालाई संक्रमणबाट जोगाउन सकर्तमा अपनाउन जरुरी रहेको स्वास्थ्य क्षेत्रका जानकारहरू बताउँछन् ।

काठमाडौंः कपुरधारा, कपन, चन्द्रागिरि, मैचीदेवी, मरुहिटी, कीर्तिपुर, पुरानो बानेश्वर, शंखमुल, चाबहिल, बालुवाटार, धुम्बाराही, महाराजगन्ज, तारकेश्वर, सीतापाइला, मनमैजु, नैकाप, गल्फुटार, कलंकी, धापासी, गोकर्ण, वसुन्धारा, बाफल, रानीवन, हाँडीगाउँ, कोटेश्वर, ट्याङ्लाफाँट, तीनकुने, खुसिबु, कागेश्वरी, टोखा, मूलपानी, काँडाघारी, साँखु, बौद्ध, बागबजार, वनस्थली, ताहाचल, सामाखुसी, टेकु, कुलेश्वर ।

भक्तपुरः सल्लाघारी, दुवाकोटा, बागेश्वरी, दुधपाटी, बालकोट, गठ्ठाघर, बोडे, भोलाछे ।

ललितपुरः महालक्ष्मी, महालक्ष्मी स्थान, बुङ्मति, लुभु, लगनखेल, सानेपा, ठैब, पाटन, गोदावरी, सुनाकोठी, धापाखेल, हरिसिद्धि, हात्तीवन, चापागाँउ, भैंसेपाटी, नख्खु, प्युटार, चौघरे, जावलाखेल, गोटीखेल, कुपण्डोल, ग्वार्को, ठेचे ।

१२ वटा जोखिमस्थलहरूः अस्पताल, तरकारी बजार, फलफूल पसल, चिया पसल, दुग्ध/डेरी, रेस्टुरेन्ट, किराना पसल, बैंक, सरकारी निकाय, सपिङ सेन्टर, सैलुन/ब्युटिपार्लर, सार्वजनिक यातायात ।

कमेन्ट गर्नुहोस्