म्याग्दी पहिरो : मृतकको संख्या १७ पुग्यो, ३ घाइतेको उद्धार

म्याग्दी : अविरल वर्षापछि शुक्रबार म्याग्दीमा आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ । ३ जनाको भने जिवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकामा गएको पहिरोमा नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले बेपत्ताहरूको खोजी गर्ने क्रममा १७ जनालाई मृत अवस्थामा फेला पारेको हो ।

मृतावस्थामा फेला परेकामध्ये धवलागिरिमा १० र मालिका गाउँपालिकामा सात जना रहेका छन् ।

याे पनि पढ्नुस  कास्की पहिरोः एकै परिवारका तीन जनाको मृत्यु

पहिरामा परी धवलागिरि गाउँपालिका–६ मराङ रिखाबाट मृतावस्थामा फेला परेका सुकना लामगादे, आशीष लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रपाली, सुरक्षा श्रपाली, सुरज श्रपाली र जनिमा केसीको छोरा प्रकाश केसी रहेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

उनका अनुसार सोही जिल्लाको मालिका गाउँपालिका-७ विम दुलेबाट मृतावस्थामा भेटिनेहरुमा सोही स्थानका विष्णु पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, वीरबहादुर नेपाली र निजको तीनमहिने छोरा तथा विष्णु नेपाली रहेका छन् ।

याे पनि पढ्नुस  एक महिनामा पहिरो र चट्याङबाट १०० को मृत्यु, ४३ बेपत्ता

त्यसैगरी उक्त गाउँपालिकाकै बेपत्ता मध्येका तीन जनालाई जीवितै उद्धार गरिएको छ । घाइतेहरूलाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि बेनी अस्पताल र पोखरा मणिपाल अस्पताल पठाइएको छ । अन्य बेपत्ताहरुको खोजी जारी रहेको प्रहरी नायब उपरीक्षक रेग्मीले बताए ।

उनका अनुसार उद्धार गरिएका मध्ये मालिका गाउँपालिका-७ का ३६ वर्षीय पूर्णबहादुर नेपालीको बेनी अस्पतालमा र धवलागिरि गाउँपालिका-६ का २२ वर्षीया मन्जिता श्रीपाली (गर्भवती महिला ढाडमा समस्या) तथा सोही स्थानका सात वर्षीय बालक सफल श्रीपालीको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको छ ।

कमेन्ट गर्नुहोस्