३ दिनपछि खुल्यो बेँसीसहर-चामे सडक

लमजुङ : पहिराले अवरुद्ध बनाएको तीन दिनपछि बेँसीसहर-चामे सडक पुनः सञ्चालन भएको छ ।

बिहीबार बिहानदेखि अवरुद्ध भएको लमजुङ-मनाङ जोड्ने बेँसीसहर-चामे सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका-६ खरखरे भिरको पहिरो तीन दिन लगाएर एक्साभेक्टरले हटाएसँगै आज साँझ ६ बजेदेखि सडक पुनः सञ्चालन भएको हो ।

करीब ५०÷६० मिटरमाथि बाट सडकमा पहिरो आउँदा यस सडकखण्डको ७० मिटर भाग अवरुद्ध भएको र यस पहिरो हटाएसँगै सवारीसाधन सञ्चालनमा आएको सडक डिभिजन कार्यालय दमौली तनहुँका सबइन्जिनीयर सुमन अधिकारीले बताए । उनले भने, ‘यस पहिलो ठूलाठूला ढुङ्गा सहितको आएको र वर्षा भइरहेकाले पहिरो हटाउनलाई धेरै समय लागेको थियो । यस स्थानको पहिरो हटाएपछि मनाङका विभिन्न सवारीसाधनहरु लमजुङ र लमजुङबाट मनाङ आवतजावत हुन थालेका छन् ।’

याे पनि पढ्नुस  लमजुङको सुन्दरबजार नगरपालिका–२ मा पनि नेकपाका उम्मेद्वार विजयी

सोही समयमा पुवाखोलामा ढलान गरिएको ढलान नै बाढीले भत्काएको थियो । सो स्थानमा केही मर्मत गरेर कुनाको भागबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने बनाएकाले सवारीसाधन सञ्चालन भइरहेको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ ।

करिब ६५ किलोमिटरको यस सडक अवरुद्ध हुँदा मनाङवासीलाई प्रत्यक्ष रुपमा बढी मर्कामा परेका थिए । सो जिल्लामा विभिन्न सामग्री लैजानेदेखि मनाङवासी यस सडक हुँदै लमजुङ बेँसीसहर भएर विभिन्न जिल्ला आउने गर्दछन् ।

याे पनि पढ्नुस  ४ दशकदेखि जंगलमा बस्दै आएका वृद्धले पाए नागरिकता

३ दिनदेखि रोकिएर बसेका ढुवानीका सवारीदेखि यात्रुहरू सडक सञ्चालन भएपछि आ-आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

कमेन्ट गर्नुहोस्