कोरोनाबाट काठमाडौं उपत्यकामा ५ जनाको मृत्यु

काठमाडौंः कोरोनाबाट काठमाडौं उपत्यकामा हालसम्म ५ जनाको ज्यान गएको छ ।

शनिबार मात्रै नेपालमा कोरोनाबाट थप ३ जनाको मृत्यु भएको थियो । त्यसमा २ जना काठमाडौंका छन् । योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार, काठमाडौं–१० शंखमूलका ६० वर्षीय पुरुषको असार २६ गते निधन भएको हो । फोक्सोमा पानी जमेको र मिर्गौला रोगको कारणले अस्पताल भर्ना भएको १० दिनपछि उनको ज्यान गएको हो । उनीे असार १६ गते पाटन अस्पतालमा भर्ना भएका थिए । उनको असार १७ गते स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

याे पनि पढ्नुस  काठमाडौं उपत्यकामा ३०६ सक्रिय संक्रमित, को कहाँ छन् ?

गोकर्णेश्वर नगरपालिका वडा नं ४ का ५४ वर्षीय पुरुषको असार २५ गते उपचारका क्रममा मृत्यु भएको छ । काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको हो । उनी मिर्गौला रोगका बिरामी थिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको थियो । श्वासप्रश्वासमा पनि समस्या देखिएको थियो । उनको असार २१ गते स्वाबको नमुना संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय वृद्धको पनि कोरोना भाइरसका कारण गत असार १७ गते ज्यान गएको थियो । उनी उच्च रक्तचाप र पार्किन्सनका बिरामी थिए । छातीको समस्यापछि अस्पताल पुगेका उनको उपचारका क्रममा ज्यान गएको हो । उनको पनि मृत्युपछि १९ असारमा कोरोनाको पुष्टि भएको थियो ।

याे पनि पढ्नुस  ‘कोरोना जन्तरले भाइरस मर्दैन, बरु स्वास्थ्यमा गम्भीर असर गर्छ’

यसअघि ललितपुरमा २ जनाको कोरोना भाइरसबाट मृत्यु भएको थियो । ललितपुर, बुङमतीका ५६ वर्षीय पुरुषको जेठ १४ गते निधन भएको थियो । उनी १२ जेठमा किस्ट अस्पताल भर्ना भएका थिए । मृत्युपछि १५ जेठमा संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै ललितपुरको महालक्ष्मी नगरपालिका– ५ का पुरुषको पनि मृत्यु भएको थियो । पाँच महिनाअघि मिर्गाैला प्रत्यारोपण भएका उनी नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना भएका थिए । उपचारकै क्रममा उनलाई पाटन अस्पतालमा रिफर गरिएको थियो । उनको असार ११ असारको बिहान मृत्यु भएको थियो । यससँगै काठमाडौं उपत्यका निवासी ५ जनाको कोरोना भाइरसको कारण ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

याे पनि पढ्नुस  काठमाडौं उपत्यकामा संक्रमित संख्या २३९ पुग्यो

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ७ सय १९ छ । कोरोना संक्रमणबाट निको भएर फर्कनेको संख्या ८ हजार ४ सय ४२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्