प्रचण्डले कार्यकर्तालाई भने, ‘अहिले यताउता दौडिनुभयो भने पछि पछुताउनुहोला’

चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले पार्टी विभाजन हुन नदिइने बताएका छन् ।

जिल्ला पार्टी कार्यालय चितवनमा आज कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी एकतालाई अक्षुण्ण राखिने दृढता व्यक्त गरे ।

कार्यकर्तालाई आज यहाँ सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने, ‘पार्टी विभाजित हुन दिइने छैन, पार्टीको एकतालाई अक्षुण्ण राखिनेछ, यो विश्वास म तपाइहरूलाई दिलाउन चाहन्छु ।’

पार्टी एकताबद्ध हुने दृढता व्यक्त गर्दै उनले कार्यकर्तालाई भने, ‘अहिले यता र उता दौडिनुभयो भने पछि पछुताउनुहोला ।’ अध्यक्ष प्रचण्डले सबैले पार्टी एकताका पक्षमा नारा लगाउनुपर्नेमा पनि जोड दिए ।

याे पनि पढ्नुस  नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच भिडियो कन्फरेन्स

पार्टीभित्र गम्भीर समस्या सिर्जना भए पनि आफू पार्टीमा देखिएका पछिल्ला सङ्कटबारे गम्भीर छलफलमा रहेको बताउँदै उनले नेता तथा कार्यकर्तालाई नहतारिन आग्रह गरे ।

हतारमा फुट्ने र फुर्सदमा पछुताउने अवस्था आउन नदिन आफू हदैसम्म लचकताका साथ लागिपरेको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘ठूलो पार्टीमा विवाद आउनु नौलो होइन, विचार, विधि र जनवादी केन्द्रीयताका आधारमा एकताबद्ध हुने सैद्धान्तिक यथार्थलाई सम्पूर्ण कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले मान्नै पर्छ ।’

याे पनि पढ्नुस  कोरोनाविरुद्व लड्न ओली–प्रचण्डको विशेष परिपत्र, यस्ता छन् निर्देशन (परिपत्रसहित)

चीनमा विशाल कम्युनिष्ट पार्टी नफुटेको बताउँदै उनले चिनियाँ नेताहरूसँगको छलफलमा विचार र विधिबाट चलेमा पार्टी नफुट्ने अनुभवबारे बुझ्न पाइएको जानकारी दिए । उनले पार्टीमा विवाद भएमा विधिबाट समाधान खोजिने बताए ।

हिजो संविधान नबनोस् भनेर धेरै कसरत भएको बताउँदै प्रचण्डले भने, ‘संविधान बन्न नदिने दबाबलाई परास्त गरेर संविधान बनायौँ ।’ पार्टी र नेतालाई उक्साउने प्रवृत्तिका विरुद्ध खबरदारी गर्न उनले कर्ताकर्तालाई आग्रह गरे ।

याे पनि पढ्नुस  कोरोना त्रासः स्कुल–कलेज बन्द गर्न अनेरास्ववियूको माग

संविधान बनाउनेदेखि नाकाबन्दी, नयाँ नक्सा जारी गर्ने जस्ता कार्य सबै मिलेर गरेको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘हामी कोही राष्ट्रवादी, कोही राष्ट्रघाती होइनौँ । सबै मिलेर राष्ट्राका लागि काम गरेका छौँ ।’

कमेन्ट गर्नुहोस्