नेकपाको विवाद सहमति उन्मुख, पार्टीपङ्ति खुसी

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का २ अध्यक्षबीच चुलिएको पछिल्लो विवाद सहमतिउन्मुख रहेको नेताहरूले दाबी गरेका छन् ।

२ अध्यक्षको अभिव्यक्तिसमेत सकारात्मक आउन थालेपछि स्थायी कमिटीका नेताहरूले त्यसमा सन्तुष्टि व्यक्त गर्न थालेका छन् ।

शुक्रबार देशवासीको नाममा सम्बोधनका क्रममा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको आन्तरिक विवाद वार्ता र संवादबाटै सहमति हुने विश्वास दिलाएका थिए ।

‘जुनसुकै राजनीतिक दलभित्र हुने बहस र विवाद आन्तरिक हुन् । त्यसलाई निष्कर्षमा पुर्‍याउने दायित्व सम्बन्धित राजनीतिक दल र नेताहरूकै हो । यसका लागि धैर्य र संयम आवश्यक हुन्छ,’ भनेका थिए ।

सोहीअनुसार पार्टीका अर्का अध्यक्ष प्रचण्ड शनिबार चितवन पुगेर पार्टीको आन्तरिक समस्या समाधानउन्मुख रहेको अभिव्यक्ति दिए ।

याे पनि पढ्नुस  सचेत नबने फेरि लकडाउनमा पुग्दैनौँ भन्ने छैनः प्रधानमन्त्री ओली

‘हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने काम नगरिने’ बताउँदै अध्यक्ष प्रचण्डले भनेका थिए, ‘जुन भावना र स्पिरिटबाट पार्टी एक भएको थियो, त्यही स्पिरिटबाट अहिले चुलिएको विवाद समाधान हुन्छ ।’ अध्यक्षद्वयको अभिव्यक्ति सकारात्मक आएपछि नेकपाका नेताहरूले पनि उत्साहित भएर सामाजिक सञ्जालमा स्टाटस लेखिरहेका छन् ।

२ अध्यक्षबीचको समस्या समाधानका लागि पार्टीले पछिल्लो ७ दिनको समय दिएको छ । असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक आगामी साउन २ गतेसम्मका लागि स्थगित गरिएको छ । यसअघि असार २६ गतेका लागि निर्धारण गरिएको बैठक सारिएको हो ।

याे पनि पढ्नुस  एक्कासी संसद अधिवेशन अन्त्य गर्ने निर्णय, प्रधानमन्त्री ओलीलाई के फाइदा ?

‘२ अध्यक्षबीचको वार्ता टुङ्गोमा पुगोस् र प्राकृतिक विपदमा परेकाहरूको उद्धार तथा पुनर्स्थापनाको काममा पार्टी पङ्क्ति परिचालित होस्,’ भन्ने उद्देश्यसाथ बैठक साताभरका लागि स्थगित गरिएको स्थायी कमिटीका सदस्यहरूको भनाइ छ । यस अवधिमा २ अध्यक्षबीच भइरहेको आन्तरिक संवाद र वार्तामार्फत् आगामी बैठकमा सहमतिको संयुक्त प्रस्ताव आउनेमा नेताहरू विश्वस्त भएका छन् ।

नेकपा संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्बाङले २ अध्यक्षबीचको वार्ता र संवाद घनीभूतरूपमा चलिरहेको र सकारात्मक दिशामै उन्मुख भएको जानकारी दिए । २ अध्यक्षहरू पार्टीको आन्तरिक एकताबारे जानकार रहेकाले कुनै दुर्घटना नहुने विश्वास उनले व्यक्त गरे । ‘यद्यपि सहमतिको विन्दुमा पुग्ने काम भइ नसकेकाले समयको प्रतिक्षा गर्नु नै उपयुक्त हुन्छ,’ उनले भने ।

याे पनि पढ्नुस  बालुवाटारमा ओली–प्रचण्डसहितका नेताको छलफल जारी

स्थायी कमिटीका अर्का सदस्य रघुजी पन्तले २ अध्यक्षबीच वार्ता र संवाद भइरहेकाले अर्को बैठकअघि नै सकारात्मक निस्कर्ष आउनेमा आफूहरू आशावादी रहेको बताए । २ अध्यक्षबीच भएको वार्ता र सहमतिबारे अझै केही जानकारी बाहिर नआएको बताउँदै उनले स्थायी कमिटीको अर्को बैठकसम्म कुर्नुको विकल्प नरहेको बताए । ‘२ अध्यक्षहरू अहिले नै सहमतिको टुङ्गोमा पुगिसक्नुभयो भन्ने त मलाई लाग्दैन, तर बैठक सकारात्मक भइरहेको छ सम्म भन्न सकिन्छ,’ उनले भने । -गोरखापत्र अनलाइनबाट साभार

कमेन्ट गर्नुहोस्