‘माग पूरा गर्न सकिन्न, सार्वजनिक यातायात सञ्चालन गर्नू’

काठमाडौंः भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सार्वजनिक यातायातका साधन सञ्चालन गर्न यातायात व्यवसायीलाई आग्रह गरेका छन् ।

आइतबार विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाउन मन्त्रालय पुगेका यातायात व्यवसायीसँग कुरा गर्दै मन्त्री नेम्वाङले विशेष परिस्थितिका कारण बन्द हुन पगेको अवस्थामा विभिन्न माग राखेर सवारी साधन सञ्चालन नगर्नु व्यवहारिक नहुने बताए ।

उनले अहिलेको समय आन्दोलनमा जस्तै माग राख्ने, पूरा गर्न दबाब दिने र सम्झौता गरेर जाने विषय नभएको पनि दावी गरे । सबै क्षेत्रका व्यवसायीलाई सरकारले समान व्यवहार गर्ने भएकाले अन्य क्षेत्र खोलिसक्दा पनि व्यवसायीहरुले माग राख्दै खोल्दिन भन्न नहुने मन्त्री नेम्वाङले बताए । उनले व्यवसायीका सबै चाहन सरकारले पूरा गर्न सक्छ कि सक्दैन भन्ने कुरामा विचार गर्न समेत आग्रह गरे ।

याे पनि पढ्नुस  सार्वजनिक यातायात सञ्चालन गर्न सरकारले पहल गर्नेछः प्रधानमन्त्री ओली

कोरोना महामारी रोकथामका लागि सरकारले लकडाउन गर्दा दैनिक उपभोग्य सामग्रीको पसल र अस्पतालहरुमात्र खुलेका थिए । लकडाउन खुकुलो पार्दै जाँदा सरकारले असार २३ गते सार्वजनिक यातायात खोल्ने निर्णय गरेको थियो ।

यातायात व्यवसायीहरुले भने आफूहरुसँग छलफल नगरी सार्वजनिक सवारी साधन सञ्चालन गर्ने निर्णय गरेकामा असन्तुष्टि जनाए । व्यवसायीहरुले चालक र सहचालकलाई सुरक्षित नगर्दासम्म समस्या हुने भएकाले आवश्यक स्वास्थ्य सामग्रीसहित व्यवसायीका समस्या सम्बोधन गर्न माग गरेका छन् ।

याे पनि पढ्नुस  क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनको जरिवाना दोब्बर

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले सरकारले सहयोग नगरे ग्यारेजबाट गाडी मर्मत गरी बाहिर निकाल्न सक्ने अवस्था नरहेको बताए ।

चालक र सहचालकले बिना सुरक्षा सावधानी सवारी साधन सञ्चालन गर्दा कोरोना संक्रमण फैलन सक्ने र त्यसको अपजस व्यवसायीले लिनुपर्ने भएकाले सरकारको सहयोग चाहिने अध्यक्ष कर्माचार्यले बताए ।

याे पनि पढ्नुस  असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन हुने

व्यवसायीहरुले पुनर्कर्जा कोषमा यातायात व्यवसायीको पहुँच हुनुपर्ने, कर्जाको पुनर्तालिकीकरण गर्नुपर्ने, बैंकको किस्ता भुक्तानीका लागि समय थप्नुपर्ने लगायतका माग राखेका छन् ।

कमेन्ट गर्नुहोस्