नेपालमा सङ्क्रमितभन्दा निको हुने धेरै

काठमाडौंः नेपालमा कोभिड–१९ बाट सङ्क्रमित भएका कुल सङ्क्रमितभन्दा कोरोना भाइरसबाट मुक्त हुनेको सङ्ख्या पहिलोपटक बढेको छ ।

आइतबारसम्म आठ हजार ५८९ जना सङ्क्रमित निको भई घर फर्केका छन् । नेपालमा कोभिड–१९ का कुल सङ्क्रमितको सङ्ख्या १६ हजार ८०१ छन् । शनिबार ५०.५ प्रतिशत रहेको निको हुने दर आइतबार ५१.१ प्रतिशत पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा कोरोना भाइरस सङ्क्रमण सक्रिय रहेका सङ्क्रमितको सङ्ख्या आठ हजार १७४ रहेको जनाएको छ । यसरी पहिलो पटक सङ्क्रमण सक्रिय रहेको सङ्क्रमितभन्दा निको हुने बढेका छन् ।

असार तेस्रो साता दैनिक सङ्क्रमित हुनेको सङ्ख्या पाँच सयभन्दा बढी भएको थियो । करिब एक सातासम्म पाँच सयभन्दा बढी नयाँ सङ्क्रमित थपिँदा प्रकोपको रुप लिई कोरोना सङ्क्रमण महामारीको रुप लिन सक्ने आकलन गरिएको थियो । तर असार १९ पछि दैनिक रुपमा सङ्क्रमित हुनेको सङ्ख्या घट्दो क्रममा छन् ।

याे पनि पढ्नुस  देश कोरोनाविरुद्व लड्दैं, राष्ट्रपति कार्यालयमा करोडको गलैँचा फेर्दै

नेपालमा विश्व परिदृश्य अनुसार सक्रिय सङ्क्रमित र निको हुने दर कम नै छ । सङ्क्रमित हुने सङ्ख्याको आधारमा नेपाल ६१ औँ सबैभन्दा प्रभावित राष्ट्र हो । विश्वभरि कुल सङक्रमित एक करोड २१ लाख ९० हजार १९६ छन् । करिब ४५ लाखमा सङ्क्रमण सक्रिय छन् ।

मन्त्रालयका अनुसार विश्वभरि हाल कोरोना सङक्रमण सक्रिय सङ्क्रमित सरदर ३७.३ प्रतिशत मात्रै छ । नेपालमा भने सङ्क्रमण सक्रिय रहेको सङ्क्रमित ४८.९ प्रतिशत छ । विश्वमा निको हुने दर करिब ५८ प्रतिशत छ । नेपालमा ५१.१ प्रतिशत छ ।

याे पनि पढ्नुस  कोरोना कहरः मृतकको संख्या १ लाख २० हजार नाघ्यो (सूचीसहित)

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार असार पहिलो साता नेपालमा सङ्क्रमण दर ११ प्रतिशत कायम थियो । असार १९ गते उक्त दर १७ प्रतिशतसम्म पुग्यो । जुन अहिलेसम्मकै उच्च हो । हाल सङ्क्रमण दर २ प्रतिशतमा झरेको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार ९१६ जनाको नमुना परीक्षणको प्रतिवेदन आएकोमा ८२ जनामा सङ्क्रमणको पुष्टि भएको छ । जुन पछिल्लो दुई सातामा शनिबारको ७० जना सङ्क्रमितपछिको अहिलेसम्मकै सबैभन्दा कम हो ।

याे पनि पढ्नुस  दूतावासले भन्यो, ‘कोरियामा कारोना भाइरसबाट नेपाली संक्रमित छैनन्’

महामारी तथा रोग नियन्त्रण केन्द्र(इसीडीसी)का प्रमुख डा. वासुदेव पाण्डेका अनुसार निको हुने दर बढिरहँदा विश्वको तथ्याङ्क भेट्न एक साता लाग्छ । तर क्वारेन्टाइनमा रहेकाले उक्त दरलाई प्रभावित बनाउन सक्छन् । क्वारेन्टाइनमा हाल २३ हजार ७८४ जना छन् । जसको परीक्षण गरिएको छैन । क्वारेन्टाइनको रहेकाहरूको परीक्षण नतिजाले नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या अझै बढन सक्ने डा. पाण्डे बताउनुहुन्छ ।

तर पछिल्ला दिनहरूका क्वारेन्टाइनमा बसेका सङ्क्रमितमा पनि सङ्क्रमण दर थोरै देखिएको छ । जसले नेपालका लागि कोरोनाको सङ्क्रमण दरले राहत दिएको छ ।

कमेन्ट गर्नुहोस्