तनहुँ पहिरो अपडेट : ७ जनाको मृत्यु, ५ बेपत्ता

एकै परिवारका ३ जनाको मृत्यु

तनहुँ : अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर आज तनहुँमा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

पहिराले घर पुरिँदा व्यास नगरपालिका-९ माझफाँटमा एकै परिवारका ३ सहित ४, ऋषिङ गाउँपालिका-८ पल्ट्याङ भैसीकिलेमा २ र म्याग्दे गाउँपालिका-६ बेलौतेडाँडामा १ जनाको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिराले पुरिएर व्यास-९ माझफाँटमा ४० वर्षीय कमला थापा, उनका छोरा २४ वर्षीय मनोज थापा, छोरी २१ वर्षीया अञ्जना थापा, सोही ठाउँकै ७० वर्षीया मैतकुमारी घर्तीको निधन भएको छ ।

याे पनि पढ्नुस  कुकुरलाई बन्ध्याकरण गराउँदै जुकाको औषधि खुवाइयो

ऋषिङ-८ पल्ट्याङमा पहिराले घर पुरिएर बेपत्ता भएका ३० वर्षीय भेषबहादुर थापा र १९ वर्षीया मनिसरा थापाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।

पहिराले पुरिएर गम्भीर घाइते म्याग्दे-६ बेलौतीडाँडाका १७ वर्षीय लक्ष्मी विकको भने दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

याे पनि पढ्नुस  पहिरोमा पुरिएका ५ शव भेटिए, चार जना अझै बेपत्ता

पहिराले पुरिएर व्यास-९ माझफाँटका २० वर्षीय राजेश थापा, ऋषिङ-८ पल्ट्याङका २९ वर्षीय नानुमाया थापा, पाँच वर्षीया अमिषा थापा, २२ वर्षीय महादेव थापा, व्यास-११ ओडारेका ४५ वर्षीय पद्मबहादुर भुजेल बेपत्ता छन् । उनीहरूको खोजी कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी परिचालित छन् ।

याे पनि पढ्नुस  कास्की पहिरोः एकै परिवारका तीन जनाको मृत्यु

त्यस्तै पहिराले पुरिएर घाइते भएका ऋषिङ-८ पल्टयाङकी ६० वर्षीया ज्योतिमाया थापा, व्यास-९ माझफाँटका ५० वर्षीय केशव थापाको पोखरामा उपचार भइरहेको छ भने सोही ठाउँकै २६ वर्षीया झनुमाया कुँवरको दमौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्