सडकमा गुड्न थाले सार्वजनिक यातायात

काठमाडौंः सरकारले छोटो दुरीका सवारी साधन सञ्चालन गर्न अनुमति दिएसँगै काठमाडौं उपत्यकाका सडकमा सार्वजनिक यातायात गुड्न थालेका छन् । राजधानीका विभिन्न सडकखण्डमा सोमबार मयूर यातायात, संयुक्त यातायात, मनमैंजु यातायातलगायतका बस गुड्न थालेका हुन् ।

सरकारले छोटो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेपछि यातायात व्यवसायीले भने विभिन्न माग राखेर बस नचलाउने बताउँदै आएका थिए । तर, सोमबारदेखि भने विभिन्न कम्पनीले बस सञ्चालन गर्न थालेका हुन् ।

सडकमा सार्वजनिक यातायात गुडे पनि यात्रुको संख्या भने न्यून देखिएको छ । अधिकांश बस खाली नै गुडिरहेको पाइएको थियो । कलंकीमा भेटिएका एक चालकले बस ग्यारेजबाट निकालेर गुडाउन थाले पनि यात्रु नै नभेटिएको गुनासो गरे ।

याे पनि पढ्नुस  '५० यातायात समिति मात्र कम्पनीमा दर्ता'

सरकारले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनको करिब साढे तीन महिनापछि बिहीबार सार्वजनिक यातायात खुला गर्ने निर्णय गरेको थियो ।

सरकारले उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरभित्र र बाहिरका जिल्लामा सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन गर्न मिल्ने गरी सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

याे पनि पढ्नुस  दिल्ली रेड जोनबाट बाहिरः नीजि र सार्वजनिक यातायात सुचारू हुने, बजार पनि खुल्ने

सरकारले सिट क्षमताको बढीमा आधा यात्रु राख्नुपर्ने, सार्वजनिक यातायात सञ्चालन गर्दा चालक र सहचालकले मास्कपन्जा अनिवार्य लगाउनुपर्ने, ढोका र यातायातका साधनभित्र स्यानिटाइजर राख्नुपर्ने, यात्रुले पनि मास्क अनिवार्य लगाउनुपर्ने गरी सवारी साधन चलाउन अनुमति दिएको थियो ।

सरकारले छोटो दुरीका सवारीसाधन सञ्चालन गर्न अनुमति दिए पनि लामो दुरीको सवारी चलाउन भने अनुमति दिएको छैन । काठमाडौं उपत्यकामा सोमबार सञ्चालनमा रहेका बसका चालक र सहचालकले हातमा पन्जा र मास्क लगाएको पाइएको छ । बसमा एक लहर राखेर सामाजिक दुरी कायम गर्ने प्रयास गरिएको पाइएको छ ।

याे पनि पढ्नुस  असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन हुने

यता, केही समय अघिदेखि विद्युतीय बस चलाउँदै आएको सुन्दर यातायात प्रालिले आज (मंगलबार)बाट बस सेवा सुरु गर्ने जनाएको छ । कम्पनीले सरकारले तोकेअनुसार साविकको भन्दा ५० प्रतिशत बढी भाडा पनि नलिने घोषणा गरेको छ ।

सुन्दरका चारवटा बसले दुईवटा रुटमा सेवा दिने कम्पनीले जनाएको छ । सुन्दर प्रालिका अनुसार सूर्यविनायक–रत्नपार्क र चक्रपथमा सुन्दरका दुई–दुईवटा विद्युतीय बसले सेवा दिनेछन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

कमेन्ट गर्नुहोस्