वामदेव गौतम भन्छन् : प्रधानमन्त्रीले रामबारे दिएको अभिव्यक्ति फिर्ता लिँदै आत्मआलोचना गर्नुपर्छ

‘प्रधानमन्त्रीमाथि मलाई पहिल्यै शंका लागेको थियो’

काठमाडौं : नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार एक कार्यक्रममा ‘रामको जन्मभूमि नेपालको पर्सामा पर्छ’ भन्ने दिएको अभिव्यक्तिले थप विवाद सिर्जना गरेको बताएका छन् ।

उनले राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिएको मन्तव्यबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेकाले प्रधानमन्त्री ओलीले सो मन्तव्य फिर्ता लिँदै जनतासमक्ष आत्मआलोचना गर्नुपर्ने समेत बताएका छन् ।

‘आजभन्दा २ वर्ष पहिले उहाँलाई भेट्न म बालुवाटार गएका बखत यो बिषयबारे चर्चा गर्नुभएको थियो । मैले उहाँलाई यस सम्बन्धमा आफूले अध्ययन गरेका कतिपय सन्दर्भ सामग्री उल्लेख गर्दै विना अनुसन्धान, विना तथ्य प्रमाण यस्तो विषयलाई तपाइले कहीँ कतै व्यक्त नगर्न भन्दै सल्लाह पनि दिएको थिएँ,’ उनले फेसबुकमा लेखेका छन्, ‘मलाई यस विषयमा उहाँले कहीँ न कहीँ सार्वजनिक गरिहाल्नु हुन्छ कि भन्ने शंका पनि लागेको थियो । नभन्दै सोमबार तथ्य प्रमाणविना त्यसलाई सार्वजनिक गरेरै छोड्नु भयो ।’

याे पनि पढ्नुस  आकस्मिक बोलाइएको मन्त्रीपरिषद् बैठक स्थगित

नेता गौतमले यस्तो गम्भीर विषयलाई पनि प्रधानमन्त्री ओलीले मजाकको रूपमा लिएको समेत आशय व्यक्त गरेका छन् । ‘क. ओली अहिले मुलुकको प्रधानमन्त्री हुनुहुन्छ र सत्ताधारी पार्टीको अध्यक्ष पनि हुनुुहुन्छ । अहिले उहाँ चाहँदा सबै पक्षबाट अनुसन्धान गर्न, तथ्यहरू जुटाउन, आएका अनुमानहरूको तथ्यसंगत विश्लेषण गर्न चाहिने साधनस्रोत जुटाउन सक्ने अवस्थामा हुनुहुन्छ,’ उनले लेखेका छन्, ‘उहाँले उठाउनु भएको विषय सबै पक्षबाट तथ्य र तर्कसंगत सावित भएको अवस्थामा प्रधानमन्त्रीले हैन इतिहासकारहरूले सार्वजनिक गर्नु पर्दथ्यो ।’

याे पनि पढ्नुस  भारतीय विदेशमन्त्री जयशंकर काठमाडौंमा

उपाध्यक्ष गौतमले भगवान रामको जन्म जहाँ भए पनि यथार्थवादी कम्युनिष्टहरूका निम्ति फरक नपर्नेसमेत उल्लेख गरेका छन् । उनले लेखका छन्, ‘रामका भक्त नेपाल र भारतमा ठूलो संख्यामा रहेका छन् । यथार्थवादी भएका नाताले इतिहासप्रति हामी कम्युनिष्टहरूले अन्याय गर्न सक्दैनौँ । नेपालको इतिहास निर्माणमा योगदान गर्ने महापुरुषहरूको नेपाल रहँदासम्म प्रशंसाा गरिरहिने छ । संसारमा धेरै धर्महरु छन्, धेरै धार्मिक सम्प्रदायहरू छन् र तिनका अनुयायीहरू करोडौंको संख्यामा रहेका छन् ।’

याे पनि पढ्नुस  प्रधानमन्त्रीलाई राजनीतिबाट विश्राम लिन गगन थापाको सुझाव

साथै उनले प्राविधिक तथा इतिहासविद्को टोली बनाई तत्सम्बन्धमा अनुसन्धान र तथ्य संकलनमा लाग्न प्रधानमन्त्री ओलीलाई अनुरोधसमेत गरेका छन् ।

कमेन्ट गर्नुहोस्