तनहुँ पहिरो अपडेट : मृतकको संख्या ११ पुग्यो

तनहुँ : पहिराले पुरिएर सोमबार बिहानदेखि बेपत्ता भएका एक जनाको शव आज भेटिएको छ ।

पहिराले घर पुरिँदा बेपत्ता भएका व्यास नगरपालिका-११ ओडारेका ४५ वर्षीय पदमबहादुर भुजेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बेपत्ता भएका चेपाङको सोमबारदेखि नै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी कार्य जारी राखेका थिए । निरन्तरको प्रयासपछि आज दिउँसो चेपाङको शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । यो सँँगै तनहुँमा पहिराले पुरिएर निधन हुनेको संख्या ११ पुगेको छ ।

यसअघि सोमबार १० जनाको शव फेला परेको छ । व्यास नगरपालिका-९ माझफाँटका २० वर्षीय राजेश थापा भने अझै बेपत्ता छन् । उनको पनि खोजी कार्यलाई जारी राखिएको छ ।

पहिराले पुरिएर ऋषिङ गाउँपालिका-८ पल्ट्याङ भैँसीकिलेका एकै परिवारका ५, व्यास नगरपालिका-९ माझफाँटमा एकै परिवारका ३ सहित ४ र म्याग्दे गाउँपालिका-६ बेलौतेडाँडामा १ जनाको निधन भएको छ ।

ऋषिङ गाउँपालिका-८ पल्ट्याङ भैँसीकिलेका ३० वर्षीय भेषबहादुर थापा, निजको श्रीमती २९ वर्षीया नानुमाया थापा, निजकै ५ वर्षीया छोरी अमिषा थापा, २२ वर्षीय महादेव थाापा र निजको श्रीमती १९ वर्षीया मनिसरा थापा, व्यास नगरपालिका-९ माझफाँटमा ४० वर्षीय कमला थापा, उनका छोरा २४ वर्षीय मनोज थापा, छोरी २१ वर्षीया अन्जना थापा, सोही ठाउँकै ७० वर्षीया मैतकुमारी घर्ती र म्याग्दे गाउँपालिका-६ बेलौतीडाँडाका १७ वर्षीय लक्ष्मी विकको पहिराले पुरिएर मृत्यु भएको थियो ।

पहिराले पुरिएर घाइते व्यास नगरपालिका-९ माझफाँटका ५० वर्षीय केशव थापा, सोही ठाउँकै २६ वर्षीया झनुमाया कुँवर र ऋषिङ गाउँँपालिका-८ भैँसीकिलोका ६० वर्षीय ज्योतिमाया थापाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्