सडक सञ्जालमा अब्बल बन्दै भरतपुर महानगर

भरतपुरः भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिका भित्रका सडक सञ्जाललाई बेवस्थित बनाउँदै लगिएको बताएकी छन् । बुधबार भरतपुर महानगरपालिका वडा नम्बर–१५ मा रहेको जगन्नाथ चोकदेखि गर्गेश्वर मन्दिरसम्मको सडकको उद्घाटन गर्दै महानगर प्रमुख दाहालले सो कुरा बताएकी हुन् ।

समपूरक कोषबाट सञ्चालित एक करोड ५५ लाख रुपैयाँको लागतमा निर्मित १८ सय मिटर लामो सडक निर्माण सम्पन्न गरिएको भन्दै दाहालले महानगरपालिका भित्रका सडक सञ्जालहरुको प्रगति देखिनेगरि काम अगाडि बढाइएको समेत बताइन् । भरतपुर महानगरपालिकाभित्र नगरवासीको अधिकांश माग सडक विस्तार तथा कालोपत्रे रहने गरेको बताउँदै उनले जनताको माग र आवश्यकताअनुसार सडक निर्माणलाई प्राथमिकतामा राखेको बताइन् ।

याे पनि पढ्नुस  भरतपुरमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको अतिरन्जित प्रचार, भण्डारीसहित १६ वडाध्यक्षले जारी गरे संयुक्त विज्ञप्ति

भरतपुरमा आफू जनप्रतिनिधिको रुपमा प्रवेश गरेसँगै सडकहरुको बर्गीकरण र मापदण्ड बनाएर योजनाबद्ध ढंगले काम अगाडि बढाएको बताउँदै महानगर प्रमुख दाहालले महानगरपालिका भित्र ६ मिटरभन्दा कम चौडाईको बाटो नरहेको समेत बताइन् ।

जगन्नाथ चोकदेखि गर्गेश्वर मन्दिरसम्मको बाटोमा सात मिटर कालोपत्रे गरिएको उल्लेख गर्दै महानगर प्रमुख दाहालले सो सडक १६ मिटर चौडाईको भएको बताइन् । संघ, प्रदेश, सडक बोर्ड तथा भरतपुर महानगरपालिकाको लगानीमा महानगरपालिकाभित्र रिङ रोड, लिङ्क रोड तथा अन्य रणनीतिक महत्वका सडकहरु निर्माण भैरहेको बताउँदै अबको एक वर्षभित्रमा ती आयोजनाहरु सम्पन्न भइसक्दा भरतपुरले सडक सञ्जालमा एउटा फड्को मार्ने पनि बताइन् ।

याे पनि पढ्नुस  महानगर प्रमुख दाहालको अपिलः कोरोना महामारीबाट बच्न उच्च सतर्कता अपनाउ

चालु आर्थिक वर्ष २०७६/७७ मा भरतपुर महानगरपालिकाले विभिन्न क्षेत्रमा ६० किलोमिटर सडक कालोपत्रे गरेको भरतपुर महानगरपालिकाका डिभिजनल इन्जिनीयर रत्न लामिछानेले बताए । त्यस्तै, २० किलोमिटर सडक मर्मत, १० किलोमिटर सडक उच्चस्तरीय ग्राबेल र ४० किलोमिटर सडकमा ग्राबेल सम्पन्न गरिएको समेत इन्जिनीयर लामिछानेले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्