बन्द भएका वायुसेवा कम्पनीलाई विशेष राहतसहितको छुट

काठमाडौं : सरकारले लकडाउनका कारण उडान बन्द भएका वायुसेवा कम्पनीलाई विभिन्न छुटसहितको राहत दिनेभएको छ ।

गत असार २९ गते बसेको मन्त्रिपरिषद्को निर्णयका बारेमा जानकारी दिन आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्तासमेत रहनु भएका अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सो जानकारी दिएका हुन् ।

मन्त्री डा. खतिवडाले व्यावसायिक तथा मनोरञ्जनात्मक उडान भर्ने वायुसेवा कम्पनीलाई त्यस्तो विमानको पार्किङ शुल्कमा ७५ प्रतिशत छुट दिने निर्णय गरिएको जानकारी दिए । उक्त छुट सरकारले लकडाउन जारी गरेको गत चैत ११ गतेदेखि लकडाउन खुलेको एक महिनासम्मका लागि लागू हुनेछ ।

याे पनि पढ्नुस  राहत वितरणमा अब्ब्ल अबुधाबी राहत वितरण समूह

त्यस्तै, आन्तरिक एवं अन्तर्राष्ट्रिय वायु सेवा प्रदायक तथा अन्य सम्बद्ध निकायले विमानस्थल परिसरभित्र विभिन्न कम्पनीले भाडामा लिएर विभिन्न सेवा प्रदान गरेकाहरुको हकमा समेत छुट दिइने भएको छ ।

सरकारले विमानस्थल परिसरमा रहेका पसल तथा अन्य कार्यालयको समेत लकडाउन शुरु भएदेखि लकडाउन खुलेको मितिले एक महिनासम्म कोठा वा कवलको बहालमा र बहाल करमा ७५ प्रतिशका दरले छुट दिने निर्णय गरेको छ । यस्तै, सो अवधिसम्म त्यस्ता कम्पनीलाई जारी हुने बिलमा विलम्ब शुल्क नलिनेसमेत जनाइएको छ ।

याे पनि पढ्नुस  राहत होइन रोजगारी दिन्छौंः प्रधानमन्त्री ओली

सरकारले वायुसेवा कम्पनीले नियमित रुपमा बुझाउनुपर्ने शुल्क भुक्तानी अवधिसमेत बढाइएको छ । जसअनुसार त्यस्तो शुल्क २०२० को डिसेम्बर ३१ सम्म भुक्तानी गर्ने समयावधि दिइएको मन्त्री डा. खतिवडाले जानकारी दिए । उनका अनुसार वायुसेवाको सञ्चालन अनुमतिपत्र दस्तुर र उडान योग्यता प्रमाणपत्र दस्तुरमा ५० प्रतिशत छुट दिने निर्णयसमेत भएको छ ।

कमेन्ट गर्नुहोस्