भीमोदय मावि चितवनका प्रअ कँडेललाई एसियाकै उत्कृष्ट प्रधानाध्यापकको अवार्ड

काठमाडौं : भीमोदय मावि चितवनका प्रधानाध्यापक डा. हरिप्रसाद कँडेल एसियन लिडरशिप अवार्ड प्राप्त गर्न सफल भएका छन् ।

५० भन्दा बढी विधामा विश्वभरीका सयौं व्यक्तिहरूलाई दिइने यो पुरस्कारको विजेताहरू घोषणा हुने क्रम सुरु भएको छ । यसै क्रममा नेपालका डा. कँडेललाई उत्कृष्ट प्रधानाध्यापक भन्दै एसियन लिडरशिप अवार्डका लागि छनोट गरिएको हो ।

सन् २०११ देखि प्रारम्भ भएको एसियन लिडरशिप अवार्डको १० औँ संस्करण यो वर्ष अक्टोवर १५ मा सम्पन्न हुँदै छ ।
दुवईको दुवई मलमा प्रधान कार्यालय रहेको संस्थाले जुलाई २१ का दिन आफ्नो अफिसियल पेजमा नेपालका डा. कँडेललाई अवार्ड विजेता भएको ब्यानर सार्वजनिक गरेसँगै सामाजिक सञ्जालमा खुसियाली छाएको देखिन्छ ।
स्मरणीय कुरा के छ भने डा. कँडेललाई गतवर्ष पीपी प्रसाई फाउन्डेसनले सन् २०१९ को नेपालकै सर्वोकृष्ट शिक्षक र प्रअ अवार्ड प्रदान गरेको थियो ।

त्यसैगरी डा. कँडेललाई कालिका नगरपालिका चितवन र शिक्षक संघ बागमती प्रदेशले पनि यस अघि उत्कृष्ट प्रअको रुपमा सम्मान गरिसकेको छ ।

पुरस्कार स्वरूप ब्याज, सम्मानपत्र र अन्य प्रायोजित नगद पुरस्कार दिइने जनाइएको छ । अवार्ड वितरणका दिन आफुले गरेका कामहरुको वारेमा प्रेजेन्टेसन गर्ने अवसर हुने छ । कार्यक्रममा विश्वभरवाट सयौं पाहुना र हजारौं उधोगी व्यवसायी तथा अन्य सहभागीहरुको भव्य उपस्थिति रहने जनाइएको छ ।

म २०५६ सालदेखि विज्ञान शिक्षकका रुपमा शिक्षण पेशामा प्रवेश गरेका डा. कँडेल २०६३ सालमा स्थायी, २०६९ मा द्वितीय श्रेणीमा बढुवा हुँदै २०७१ असारदेखि प्रधानाध्यापकको जिम्मेवारीमा रहँदै आएका छन् ।

फरक काम गर्न भन्दा पनि हरेक काम फरक ढंगमा गर्न मन पराउने डां कँडेल प्रअको भुमिकामा आउन साथ विद्यालयले छोटै समयमा कायापलट गर्न सफल भएको छ । केहीवर्ष अघि जिल्लामै गुमनाम विद्यालय डा. कँडेलको नेतृत्वमा आज मुलुककै उत्कृष्ट विद्यालयको माझमा दह्रिन पुगेको छ ।

कमेन्ट गर्नुहोस्