कालापानी र लिम्पियाधुराबारे भारतको आपत्तिजनक पत्र

काठमाडौंः नेपालको पश्चिम सिमानाबारे कोभिड– १९ महामारी सकिएसँगै वार्ता गर्ने कूटनीतिक नोट पठाएको भारतले कालापानी र लिम्पियाधुरालाई भारतीय क्षेत्र भन्दै त्यहाँ नेपालीको प्रवेश रोक्न नेपाली प्रशासनलाई पत्राचार गरेको छ ।

‘भारतीय भूमि लिम्पियाधुरामा नेपालीहरू चोरी–छिपी’ पस्न लागेको खबर आफूहरूले विश्वस्त सूत्रबाट प्राप्त गरेको भारतीय पक्षको भनाइ छ ।

नेपाली भूमि कालापानी क्षेत्र भारतले ५८ वर्षदेखि कब्जा गरेकाले नेपालीको प्रवेश सम्भव भएको छैन । तर, यसरी नेपाली भूमिमा नेपाली प्रवेश गर्न खोजेको भन्दै त्यस्तो प्रयासलाई भारतले ‘चोरी–छिपी’ भनेको छ । भारतको यो आपत्तिजनक लिखित पत्राचारको विषयमा कस्तो प्रतिक्रिया दिने भन्ने विषयमा नेपाल सरकारले स्पष्ट पारिसकेका छैन ।

याे पनि पढ्नुस  छाङ्गरुदेखि कालापानी जाने बाटो निर्माण गरिँदै

लिपुलेक, कालापानी र लिम्पियाधुराका विषयमा वार्ता गर्न नेपालले कूटनीतिक माध्यमबाट गरेको प्रयासपछि १० असारमा मात्र भारतले जवाफ पठाएको थियो । कोभिड– १९ को महामारी सकिएपछि वार्ता गर्ने भारतको प्रस्ताव छ । तर, त्यसको २० दिनपछि भारत, उत्तराखण्डस्थित धार्चुला प्रशासनले पत्र लेखेर नेपाली समूह भारतीय भूमि गुन्जी र लिम्पियाधुरामा प्रवेश गर्न थालेको दाबी गरेको छ ।

सीमावर्ती धार्चुलाका उप–जिल्ला अधिकारी अनिलकुमार शुक्लाद्वारा ३० असारमा नेपालको जिल्ला प्रशासन कार्यालय दार्चुलालाई लेखिएको पत्रमा भनिएको छ, ‘भारतीय क्षेत्र गुन्जी, लिपुलेक र लिम्पियाधुरामा नेपाली गुट, समूह अवैध रूपमा चोरी–छिपी सीमा पार गर्ने कोसिस गरिरहेको हामीलाई विशिष्ट सूत्रबाट जानकारी मिलेको छ । मिडियाको ध्यान आकृष्ट गर्न र दुवै देशलाई समस्यामा पार्न यस्तो प्रयास भइरहेको छ । त्यसैले तपाईंको स्तरमा त्यस्तो कुनै पनि जानकारी प्राप्त भएमा तुरुन्त हामीलाई खबर गर्नुहुन अनुरोध छ ।’

याे पनि पढ्नुस  यस्तो हुनेछ लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा

दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले आफूले त्यस्तो पत्र प्राप्त गर्ना साथ काठमाडौंलाई जानकारी गराएको बताएका छन् । माथिको निर्देशनको प्रतीक्षामा रहेको पनि पोखरेलले बताए । यता परराष्ट्र मन्त्रालयले भने यो विषयमा प्रतिक्रिया दिन मानेन ।

यसै पनि कालापानी क्षेत्र भारतले ५८ वर्षदेखि कब्जा गरेको छ । नेपालीलाई छाङरुको सीतापुलभन्दा माथि जान अवरोध छ । नेपाली दशकौँदेखि लिम्पियाधुरा नगएकाले अहिले जान खोजेका छन् भनेर भारतले विशिष्ट सूत्रको हवाला दिएर किन पत्र पठायो होला ? परराष्ट्रका एक अधिकारी भन्छन्, ‘त्यो हाम्रो भूमि हो, तर हामी आफैँ दशकौँदेखि गएका छैनौँ । आयौ भने खबरदार भनेर अपमानित गर्ने र उत्तेजित बनाउने प्रयास भएको छ । नेपालले गम्भीर कूटनीतिक पहल गरेर यो समस्या समाधान गर्नुपर्छ ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

याे पनि पढ्नुस  भारतद्वारा कालापानी आफ्नै भूभाग भएको दावी

कमेन्ट गर्नुहोस्