घोराही उपमहानगरपालिका : जुनियर हाकिम राखेर अनियमितता गर्दै जनप्रतिनिधि

दाङ : दाङको घोराही उपमहानगरपालिकामा जनप्रतिनिधिले जुनियर हाकिम राखेर अनियमितता गर्दै आएका छन् । उपमहानगरपालिकामा सहसचिव स्तरको प्रमुख प्रशासकीय अधिकृति हुनुपर्नेमा उपसचिव स्तरका ऋषिराम केसीलाई राखेर जनप्रतिनिधिले अनियमितता गर्दे आएका छन् ।

मेयर नरुलाल चौधरी र उपमेयर सीता सिग्देल न्यौपानेले ल्याउने जस्तोसुकै फाइल पनि सजिलै पास गरिदिने भएपछि नियमविपरित प्रशासकिय अधिकृत राखिएको हो ।

यसअघि सामान्य प्रशासन मन्त्रालयले पटकपटक प्रशासकिय अधिकृत केसीको सरुवा गर्न खोजे पनि मेयरले आफै केन्द्रसम्म पुगेर केसीको सरुवा रोकेका थिए ।

हटाइए सहसचिव स्तरका हाकिम

घोराही उपमहानगरपालिकामा सहसचिव स्तरका हाकिम नआएको भने हैन । यसअघि आएका सहसचिव स्तरका प्रशासकीय अधिकृतलाई मेयर चौधरीले ५ नम्बर प्रदेशका मुख्यमन्त्री समेत रहेका शंकर पोख्रेललाई लगाएर अवधि नपुग्दै सरुवा गराएका थिए । आफू बमोजिम नचल्ने हाकिमलाई तत्कालै सरुवा गराउँदा घोराही उपमहानगरपालिकामा स्थानीय तह निर्वाचन भएको ३ वर्ष नपुग्दै ६ जना हाकिमको फेरिएका छन् ।

याे पनि पढ्नुस  जनप्रतिनिधिसहित थप ७६ जनामा कोरोना पुष्टि

स्थानीय तह निर्वाचनको क्रममा उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा रहेका कृष्ण प्रसाद सापकोटा २ महिना नबित्दै सरुवा भएका थिए । त्यसपछि हालका ऋषिराम केसी नै प्रमुख प्रशासकीय अधिृकत भएर उपमहानगरपालिकामा आएका थिए ।

२०७४ असोज ९ महिना जिम्मेवारी सम्हालेका उनको पनि जुनियर भएका कारण तीन महिनामा नै सरुवा भएको थियो । त्यसपछि प्रमुख प्रशासकीय अधिकृत भएर आएका सहसचिव स्तरका चक्रपाणी पाण्डेलाई पनि ३ महिनामा नै सरुवा गराइएको थियो ।

उनीपछि सन्त बहादुर सुनारले घोराही उपमहानगरपालिकामा ७ महिना भन्दा बढी काम गर्न पाएनन । सुनारलाई सरुवा गराएर फेरी केसीलाई नै प्रमुख प्रशासकीय अधिकृत बनाएर ल्याइएको हो ।

कृत्रिम जलाशयबाट आउँछ कमिसन

घोराही उपमहानगरपालिकाले गरेका काममा अत्यन्त चर्चा पाएको कृत्रिम जलाशय निर्माणको कामबाट आउने कमिशनलाई सदर गराउन केसीलाई जुनियर र अन्यत्र सरुवा भएपनि राजनैतिक पावर लगाएर उपमहानगरपालिकामा प्रशासकिय अधिकृत बनाएर राखिएको उपमहानगरपालिकाका एक कार्यपालिाका सदस्यले बताए ।

याे पनि पढ्नुस  १६ सय जनप्रतिनिधिलाई पाँच हजार जरिवाना !

‘घोराही उपमहानगरपालिकामा चर्चा पाएको कृत्रिम जलाशय निर्माणको कार्यक्रममा ठुलो आर्थिक चलखेल छ । यस कामबाट आउने कमिसन हाकिम मार्फत मेयर सम्म पुग्ने गरेको छ,’ ती कार्यपालिका सदस्यले भने, ‘यही चलखेल कायमै राख्नका लागि जुनियर भएपनि मेयरले मुख्यमन्त्रीको पावर लगाएर केसीलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर राखिएको छ ।’

केसी प्रमुख प्रशासकीय अधिकृत भएर आएको पनि करिब २ वर्ष पुगिसकेको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अवधि पुगिसकेकोले सरुवा गराउन खोजेपनि हाल फेरी मेयरले केसीको सरुवा रोक्न चलखेल गरिरहेको ति कार्यपालिका सदस्यले बताए ।

योजना फरफारकमा पनि चलखेल

याे पनि पढ्नुस  नेपाल टेलिकम घोराही दाङको टोलीद्वारा पूर्व सभामुख महरासंग भेटघाट

यो वर्ष लकडाउनका कारण योजना फरफारकमा ढिलाई भएतापनि यही कुरालाई आधार बनाएर उपमहानगरपालिकामा व्यापक चलखेल भएको छ ।

काम सम्पन्न भईसकको कतिपय उपभोक्ता समिति र ठेकेदारले भुक्तानी नपाएपनि काम नै सम्पन्न नभएका योजनाको भने भुक्तानी गरिएको छ ।

नेपाली कांग्रेस दाङको भवन, नेकपा दाङको भवन लगायतका कैयन योजनामा काम सम्पन्न नहुँदै भुक्तानी गरिएको छ । तर, असार २५ गते अगावै काम सम्पन्न गरि भुक्तानीका लागि निवेदन दिएका ठेकेदार र उपभोक्ता समितिले कमिसन नदिएका कारण भुक्तानी पनि नदिइएको एक निर्माण व्यवसायीले बताए ।

‘धेरै योजनामा कमिसन दिएका कारण काम सम्पन्न नहुँदै बिल पास गरिएको छ,’ ती व्यवसायीले. भने ‘तर, हामीले २५ गते अघि नै काम सम्पन्न गरी भुक्तानीका लागि निवेदन दिएका थियौँ । तर हाम्रो भुक्तानी भएन ।’

कमेन्ट गर्नुहोस्