५ सय तालिबानी जेलमुक्त

काबुल : अफगान राष्ट्रपति अस्रफ घानीले शुक्रबार ५ सय तालिबानीलाई जेलमुक्त गर्न आदेश दिएका छन् । ईदका अवसरमा ३ दिने नयाँ युद्धबिराम सुरु भएसँगै राष्ट्रपतिले यस्तो आदेश दिएका हुन् ।

संयुक्तराज्य अमेरिकासँग गत फेब्रुअरीमा तालिबान समूहले गरेको सम्झौतामा उल्लेखित सबै ५ हजार तालिवानी पछिल्लो पटक गरिएको रिहाईसँगै मुक्त भएका राष्ट्रपति घानीले जानकारी दिए । ईदका अवसरमा दिएको मन्तव्यमा राष्ट्रपति घानीले भने, ‘सदभाव प्रस्तुत गर्न र शान्ति वार्तालाई गति दिन हामी बाँकी ५ सय तालिबानी लडाकूलाई ईदका अवसरमा रिहा गर्दैछौँ ।’

अफगान सरकारले यसअघि नै ४ हजार ६ सय जना बन्दीलाई रिहाई गरिसकेको छ । तर, ४ सय जना निकै खतरनाक ठानिएका लडाकूहरूलाई मुक्त गर्न काबुल सरकार हिच्किचाइरहेको छ ।

तालिबान समूहले भने पछिल्लो पटक रिहाई हुन लागेका लडाकू पहिलो सूचीमा नाम नभएका व्यक्ति रहेको बताएको छ । राष्ट्रपति घानीले गम्भीर अपराधको दोष लागेका ४ सय तालिबानी लडाकूलाई रिहाईको निर्णय गर्ने अधिकार आफूसँग पनि नरहेको बताएका छन् । अफगानी ज्येष्ठ एवं प्रवुद्ध समूहको भेलाले मात्र उनीहरूको भाग्यको फैसला गर्न सक्ने राष्ट्रपति घानीले बताए ।

राष्ट्रपतिको उक्त भनाईप्रति तालिबानले कुनै टिप्पणी गरेको छैन । फेब्रुअरीमा अमेरिका–तालिबानबीच भएको एक सम्झौतामा अफगान जेलमा बन्दी ५ हजार तालिबान लडाकू एवं विद्रोहीका कब्जामा रहेका १ हजार सरकारी सैनिकलाई मुक्त गर्ने उल्लेख थियो ।

गएको बिहीबार तालिबानले आफ्नो कब्जामा रहेका सबै १ हजार सरकारी फौजलाई रिहाई गरिसकेको बताएका छन् । युद्धबन्दीहरूको आदानप्रदान नै शान्ति वार्ताका लागि पूर्वशर्तका रूपमा रहेको थियो । घानी र तालिबानले यसै साता ईद लगत्तै वार्ता सुरु गर्ने संकेत दिएका छन् ।

कमेन्ट गर्नुहोस्